logo

२०८३ जेष्ठ १४, विहिबार

logo
  • २०८३ जेष्ठ १४, विहिबार
  • युक्रेन युद्धमा २ वर्षमा ५ लाख रूसी सैनिक मारिएको बेलायती गुप्तचर निकाय ‘जीसीएचक्यु’ खुलासा

    युक्रेन युद्धमा २ वर्षमा ५ लाख रूसी सैनिक मारिएको बेलायती गुप्तचर निकाय ‘जीसीएचक्यु’ खुलासा

    156
    SHARES
    युक्रेन युद्धमा २ वर्षमा ५ लाख रूसी सैनिक मारिएको बेलायती गुप्तचर निकाय ‘जीसीएचक्यु’ खुलासा

    काठमाण्डाै । सन् २०२२ मा युक्रेनमाथि पूर्ण रूपमा आक्रमण सुरु गरेयता हालसम्म झण्डै ५ लाख रूसी सैनिकहरू मारिएको बेलायतको सबैभन्दा ठूलो गुप्तचर एजेन्सीले दाबी गरेको छ। बेलायती गुप्तचर निकाय ‘गभर्मेन्ट कम्युनिकेसन्स हेडक्वार्टर्स’ (जीसीएचक्यु) की प्रमुख एन कीस्ट-बटलरले आफ्नो पहिलो सार्वजनिक सम्बोधनका क्रममा यो तथ्याङ्क सार्वजनिक गरेकी हुन्। उनले बेलायतले सामना गरिरहेका सुरक्षा चुनौती र त्यसका विरुद्ध चाल्नुपर्ने कदमहरूबारे चर्चा गर्ने क्रममा यस्तो खुलासा गरेकी हुन्।



    गुप्तचर प्रमुख कीस्ट-बटलरले बेलायत अहिले एउटा “गम्भीर र चुनौतीपूर्ण मोडमा” रहेको चेतावनी दिएकी छिन्। रूसले बेलायतभरिका महत्त्वपूर्ण पूर्वाधारहरूलाई निरन्तर निशाना बनाइरहेको उनको भनाइ छ। उनले बेलायती भूमिमा शृङ्खलाबद्ध रूपमा भएका जासुसीका घटनाहरूमा क्रेमलिन (रूसी राष्ट्रपतिको कार्यालय) को हात रहेको आरोप लगाउँदै हालैका दिनहरूमा रूसले बेलायत र अन्य नेटो राष्ट्रहरू विरुद्ध अघोषित ‘हाइब्रिड युद्ध’ छेडिरहेको दाबी गरिन्।

    तथ्याङ्कमा मतभेद र वास्तविक क्षति

    युक्रेन र रूस दुवैले नियमित रूपमा विपक्षी देशको क्षतिको अनुमानित विवरण सार्वजनिक गर्दै आएका भए पनि आफ्नो तर्फको वास्तविक क्षतिबारे भने दुवै मौन बस्ने गरेका छन्। यद्यपि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सन् २०२२ यता आफ्ना ५५,००० सैनिकले ज्यान गुमाएको स्वीकार गरेका थिए। अर्कोतर्फ, बीबीसी न्यूज रसियाले स्वतन्त्र सञ्चारमाध्यम ‘मिडियाजोना’ र स्वयंसेवकहरूको समूहसँग मिलेर युद्धको सुरुवातदेखि नै रूसी सैनिकहरूको क्षतिको छुट्टै विवरण संकलन गरिरहेको छ।

    आधिकारिक प्रतिवेदन, पत्रपत्रिका, सामाजिक सञ्जाल र नयाँ चिहानहरूका आधारमा बीबीसीले हालसम्म २ लाख २३ हजार ५ सय ३९ जना रूसी सैनिक र अधिकारीहरूको मृत्यु भएको नामसहित पुष्टि गरिसकेको छ। सैन्य विज्ञहरूका अनुसार युद्धमा ज्यान गुमाउनेको वास्तविक संख्या योभन्दा धेरै माथि हुन सक्छ। चिहान, युद्ध स्मारक र शोक सन्देशहरूको विश्लेषण गर्दा यो संख्या वास्तविक क्षतिको ४५ देखि ६५ प्रतिशत मात्र हुनसक्ने अनुमान गरिएको छ।

    दोस्रो विश्वयुद्धको समयमा कोड-ब्रेकिङ (गुप्त सन्देशको सङ्केत खोल्ने) को केन्द्र रहेको ऐतिहासिक ‘ब्लेचली पार्क’ बाट बोल्दै कीस्ट-बटलरले रूसले लोकतान्त्रिक प्रक्रिया, आपूर्ति शृङ्खला र जनताको विश्वासलाई भत्काउन खोजेको आरोप लगाइन्। तर क्रेमलिनले भने यी सबै आरोपहरूको खण्डन गरेको छ।

    यसअघि पनि बेलायती भूमिमा भएका विभिन्न हत्याकाण्डमा रूसको नाम जोडिँदै आएको छ। सन् २००६ मा लण्डनको एक होटलमा पूर्व केजीबी अधिकारी अलेक्जेन्डर लित्भिनेन्कोको चियामा रेडियोधर्मी पोलोनियम मिसाएर गरिएको हत्या र सन् २०१८ मा सोल्सबरीमा पूर्व रूसी सैन्य गुप्तचर अधिकारी सर्गेई स्क्रिपालको घरको ढोकामा घातक नर्भ एजेन्ट ‘नोभिचोक’ दलेर गरिएको हत्याको प्रयासमा रूसलाई नै जिम्मेवार ठहर गरिएको थियो।

    हालैका दिनहरूमा बेलायतले युक्रेनलाई खुला सहयोग गरेपछि मस्कोले पश्चिमी देशहरूविरुद्ध साइबर र हाइब्रिड युद्ध तीव्र पारेको छ। ‘गभर्मेन्ट कम्युनिकेसन्स हेडक्वार्टर्स’ बेलायतका तीनवटा ठूला गुप्तचर निकायहरूमध्ये सबैभन्दा ठूलो एजेन्सी हो। सुरक्षा सेवा एमआई ५ र गुप्तचर सेवा एमआई ६ अन्य दुई निकाय हुन्।

    चेल्टनह्याममा रहेको ‘द डोनट’ भनिने विशाल गोलाकार भवनबाट सञ्चालित जीसीएचक्युले मुख्य रूपमा साइबर सुरक्षा र सूचना प्रविधिमा आधारित गुप्तचरी (सिग्नल्स इन्टेलिजेन्स) मा केन्द्रित रहेर काम गर्छ।


    अर्थ चाैतारी
  • विहिबार, १४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट