logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • इटालीमा तीन नेपाली फोटोग्राफरको कला प्रदर्शनी

    इटालीमा तीन नेपाली फोटोग्राफरको कला प्रदर्शनी

    260
    SHARES
    इटालीमा तीन नेपाली फोटोग्राफरको कला प्रदर्शनी

    काठमाण्डौ । इटालीको लोनातो देल गार्दामा तीन जना नेपाली फोटोग्राफरहरूको तस्विर समेटिएको विशेष फोटो प्रदर्शनी सुरु भएको छ। ‘नेपाल टुडे: इन द फरेस्ट, इन द भिलेजेज’ शीर्षक दिइएको उक्त प्रदर्शनीमा नेपालका स्थापित फोटोग्राफरहरू किशोर शर्मा, उमा विष्ट र सागर क्षेत्रीका प्रतिनिधिमुलक कार्यहरू प्रदर्शनमा राखिएका छन्। इटालियन क्युरेटर फिलिपो माजियाको क्युरेसनमा सुरु भएको यो प्रदर्शनी आगामी भदौ १४ गते (अगस्ट ३०) सम्म सर्वसाधारणका लागि खुल्ला रहनेछ।



    प्रदर्शनीमा फोटोग्राफर किशोर शर्माले विगत ६ वर्षदेखि फिरन्ते राउटे समुदायको जीवनशैलीलाई नजिकबाट नियालेर तयार पारेको ‘लिभिङ इन द मिस्ट’ नामक संकलन प्रस्तुत गरेका छन्। यसअघि यही नाममा फोटो-पुस्तक समेत प्रकाशन गरिसकेका शर्माका तस्विरहरूले आधुनिक संसारमा समाहित हुन नचाहने राउटे समुदायको सङ्घर्ष र उनीहरूको स्वतन्त्र जीवनको पाटोलाई उजागर गर्दै वैकल्पिक जीवनशैलीबारे बहस सिर्जना गर्छन्।

    त्यस्तै, अर्की फोटोग्राफर उमा विष्टले ‘आवर सङ्ग्स फ्रम द फरेस्ट’ मार्फत नेपालको अछाम जिल्लामा व्याप्त छाउपडी प्रथा र त्यसबाट प्रभावित युवतीहरूको मर्मस्पर्शी कथालाई तस्विरमा उतारेकी छिन्। सन् २००५ मा अदालतले अवैध घोषणा गरेको र २०१८ मा अपराध मानिएको यो कुप्रथा सामाजिक बहिष्करण र दैवी शक्तिको डरले समाजमा अझै कसरी टिकिरहेको छ भन्ने कुरा विष्टका तस्विरहरूले बोल्छन्। अर्का फोटोग्राफर सागर क्षेत्रीको ‘इक्लिप्स’ प्रोजेक्टले नेपाल-भारत सीमा क्षेत्रमा पर्ने मधेस र त्यहाँका नागरिकको पहिचानको जटिलतालाई प्रस्तुत गर्छ। मधेस क्षेत्र कसरी राजनीतिक गुनासो, पहिचान र अधिकार प्राप्तिको ऐतिहासिक सङ्घर्षको केन्द्र बन्यो भन्ने कुरालाई क्षेत्रीले आफ्नो तस्विर मार्फत गहिरिएर केलाएका छन्।

    प्रदर्शनीको परिचयात्मक खण्डमा क्युरेटर फिलिपो माजियाले पश्चिमा मुलुकहरूमा फोटोग्राफीले आफ्नो बाटो बिराउँदै गएको टिप्पणी गर्दै नेपाल जस्ता ‘ग्लोबल साउथ’ का मुलुकहरूमा अझै पनि तस्विरको भाषा र फोटोग्राफरको सामाजिक उत्तरदायित्व निकै सान्दर्भिक रहेको उल्लेख गरेका छन्। सरकारी र निजी क्षेत्रका भौतिक पूर्वाधार तथा सुविधाको अभावका बाबजुद पनि नेपाली कलाकारहरूको काममा बलियो कलात्मक पृष्ठभूमि, ऊर्जा, शक्तिशाली विषयवस्तु र निर्भीक अभिव्यक्ति शैली देखिएको माजियाको भनाइ छ। यस ऐतिहासिक प्रदर्शनीको क्याटलग इटालीको प्रख्यात प्रकाशन गृह ‘सिल्भाना एडिटोरियाले’ ले प्रकाशन गरेको हो भने यो परियोजनालाई इटालीको संस्कृति मन्त्रालयको ‘स्ट्राटेजिया फोटोग्राफी २०२५’ कार्यक्रम अन्तर्गत सहयोग प्राप्त भएको छ।

     


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट