काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सञ्चालनमा ल्याएको छ। महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस नयाँ कर्जा योजनाअन्तर्गत महिला उद्यमीहरूले १५ लाख रुपैयाँसम्म विनाधितो कर्जा प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म तथा पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म वित्तीय सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ। यो कर्जा योजनाले नेपालको घरेलु तथा साना उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता र नेतृत्वलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। यस कर्जा योजनालाई थप व्यवस्थित र व्यावहारिक बनाउन बैंकले विश्व बैंक समूह अन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) को प्राविधिक सहयोगमा विशेष ‘स्कोर कार्ड’ मूल्याङ्कन प्रणाली विकास गरेको छ।
यस नव प्रवर्तनात्मक प्रणालीले परम्परागत बैंकिङ अभ्यास जस्तै धितोलाई मात्र प्रमुख आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा स्वयम् उद्यमीको क्षमता लगायतका बहु-आयामिक पक्षहरूको समग्र विश्लेषण गर्ने गर्दछ। प्राविधिक सहजता र आधुनिक मूल्यांकनका कारण यो कर्जा प्रक्रिया झन्झटरहित र छिटो हुने बैंकको भनाइ छ।
नयाँ प्रणालीको व्यवस्थाले धितो अभावकै कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने नेपाली महिला उद्यमीहरूको बाध्यतालाई धेरै हदसम्म न्यूनीकरण गर्ने दाबी बैंकले गरेको छ। धितोको सट्टा व्यवसायको वास्तविक सम्भावना र वित्तीय दिगोपनालाई प्राथमिकतामा राखिने भएकाले नवप्रवर्तनकारी आइडिया भएका तर पुँजीको अभाव झेलिरहेका महिलाहरू यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। यसले बजारमा महिलाहरूद्वारा सञ्चालित व्यवसायको प्रतिस्पर्धी क्षमता बढाउन र उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना गर्न समेत टेवा पुर्याउने बैंककाे विश्वास छ।
नेपाल राष्ट्र बैंकले पनि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूलाई उत्पादनशील क्षेत्र, लघु उद्यम र महिला नेतृत्वका व्यवसायमा कर्जा प्रवाह बढाउन नीतिगत निर्देशन दिँदै आएको पृष्ठभूमिमा सिद्धार्थ बैंकको यो कदम बाहिर आएको हो। बैंकले आफ्ना देशव्यापी सञ्जाल र चौबीसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत यस कर्जा सम्बन्धी थप परामर्श र सेवा उपलब्ध गराउने जनाएको छ। विशेष स्कोर कार्डमा आधारित यो कर्जा योजनाले नेपाली बैंकिङ क्षेत्रमा परम्परागत कर्जा लगानीको शैलीलाई विस्थापित गरी व्यवसाय-केन्द्रित मूल्यांकनको नयाँ अभ्यास स्थापित गर्ने बैंकले अपेक्षा गरेको छ।
कर्जाका बारेम थप जानकारीको लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा फाेन (०१–५९७००२०) तथा ईमेल (customercare@sbl.com.np) मार्फत सम्पर्क गर्न सकिने छ ।
अर्थ चाैतारी ।