काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० शृंखला आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघले एक प्रेस विज्ञप्ति जारी गर्दै खेल तालिकासहितको विस्तृत विवरण सार्वजनिक गरेको हो। क्यानका अनुसार यो खेल शृंखला आगामी डिसेम्बर (सन् २०२६) मा सञ्चालन हुने तय भएको छ। नेपाली राष्ट्रिय टोलीको एक्सपोजर र क्षमता अभिवृद्धिका लागि छिमेकी मुलुकको बलियो टोलीसँगको यो शृंखला निकै महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
स्कटल्याण्डमा सम्पन्न आइसिसी कन्फरेन्सका क्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजीत साइकियाबीच भएको विशेष बैठकले यस टी–२० शृंखला आयोजना गर्ने महत्त्वपूर्ण निर्णय गरेको थियो। विश्व क्रिकेटको पावरहाउस भारतको ‘ए’ टोलीसँगको खेलका लागि दुवै बोर्डबीच सौहार्दपूर्ण रूपमा सहमति जुटेपछि क्यानले यसलाई औपचारिकता दिएको हो। आइसिसीको फोरममा भएको यो नीतिगत सहमतिले दक्षिण एसियाली देशहरूबीचको क्रिकेट सम्बन्धलाई थप बलियो बनाउने विश्वास खेल वृत्तमा गरिएको छ।
सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपाल र भारत ’ए’ बीचको पहिलो टी–२० खेल डिसेम्बर ९ मा हुनेछ। यसैगरी, दोस्रो खेल डिसेम्बर ११ मा र तेस्रो तथा अन्तिम टी–२० खेल डिसेम्बर १३ मा कीर्तिपुर मैदानमा खेलिने नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। सबै खेलहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै खेलाइने र यसका लागि आवश्यक प्राविधिक तथा भौतिक तयारीहरू क्यानले बेलैमा चुस्त बनाउने जनाएको छ।
नेपाली क्रिकेट टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा देखाएको प्रदर्शन र बढेको क्रेजका कारण भारत ‘ए’ सँगको यो शृंखला हेर्न कीर्तिपुर मैदानमा दर्शकहरूको उत्साहजनक उपस्थिति रहने अनुमान छ। सिनियर टोलीका लागि यो शृंखला आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारीका रूपमा समेत सहयोगी सावित हुनेछ। बीसीसीआईले पनि आफ्ना प्रतिभावान खेलाडीहरू सम्मिलित बलियो टोली नेपाल पठाउने आश्वासन दिएकाले त्रिवि मैदानमा प्रतिस्पर्धात्मक क्रिकेट खेल हेर्न पाइने नेपाली क्रिकेटप्रेमीहरूको अपेक्षा छ।

अर्थ चाैतारी ।