logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • मनाङमा अब घाम लागे चुनाव गर्न समस्या छैन

    मनाङमा अब घाम लागे चुनाव गर्न समस्या छैन

    897
    SHARES
    मनाङमा अब घाम लागे चुनाव गर्न समस्या छैन

    पोखरा । फागुन २१ गते हुने निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा तयारी अन्तिम चरणमा पुगेको छ । मौसमी प्रतिकूलता र भौगोलिक विकटताका कारण मतदान केन्द्रहरूको अनुगमनमा भने समस्या परेको छ ।



    दुर्गम क्षेत्र नार्पाभूमि गाउँपालिका जाने बाटोमा जमेको हिउँ पन्छाउने काम भइरहेको मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, चिसो कम हुँदै गएको र घाम लाग्न थालेकाले निर्वाचन गराउन अब सहज हुनेछ ।

    ‘नार्पाभूमि गाउँपालिका पुग्ने बाटोमा बाक्लो हिउँ जमेकाले आवतजावतमा कठिनाइ भएको छ,’ पौडेलले भने, ‘हिउँ पन्छाएर बाटो खुलाउन हामीले सुरक्षाकर्मी र कर्मचारी पठाउँदै छौँ । बाटो सफा गरेपछि मतपेटिका र निर्वाचन सामग्री ढुवानी गरिनेछ ।’

    निर्वाचनका लागि जनशक्ति व्यवस्थापनको काम सकिएको उनले बताए । जिल्लाभरका २८ वटा मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्र गरी कुल २९ केन्द्रमा १ सय ७१ जना कर्मचारी खटाइएको पौडेलले जानकारी दिए । त्यसबाहेक प्रत्येक मतदान केन्द्रमा २ जनाका दरले स्वयंसेवक पनि परिचालन गरिनेछ ।

    ‘यहाँ अन्य किसिमको थ्रेट छैन, हाम्रो मुख्य चुनौती भनेको भूगोल र मौसम नै हो,’ पौडेल भन्छन्, ‘अहिले हिउँ पग्लिने क्रम सुरु भएको छ । चुनाव गराउन गाह्रो नहोला ।’ आजै माथिल्लो मनाङका मतदान केन्द्रहरूको अनुगमन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

    निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू पनि जिल्ला भित्रिन थालेका छन् । काठमाण्डौ र पोखरामा रहेका उम्मेदवारहरू फर्केपछि सर्वदलीय बैठक डाक्ने कार्यालयले जनाएको छ । निर्वाचन सामग्रीहरू जिल्लामा पुग्ने क्रम सुरु भएको पौडेलले जानकारी दिए ।

    मनाङमा ३ जना मात्रै उम्मेदवार छन् । नेपाली काँग्रेसबाट टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट यशोदा सुवेदी र नेशनल मंगोल अर्गनाइजेसनबाट रामबहादुर घले उम्मेदवार छन् ।

    नेकपा एमालेका पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिंह गुरुङले काँग्रेसका टेकबहादुरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । अहिलेको निर्वाचनमा ७ हजार मतदाताले मत दिनेछन् ।


    अर्थ चाैतारी
  • विहिबार, ७ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट