logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • हुम्ला र बाजुरा सीमा विवादबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल

    हुम्ला र बाजुरा सीमा विवादबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल

    260
    SHARES
    हुम्ला र बाजुरा सीमा विवादबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल

    काठमाण्डौ । हुम्ला र बाजुरा जिल्लाबीच उत्पन्न सीमा विवाद र त्यसपछिको झडपका विषयमा गृह मन्त्रालयमा आज उच्चस्तरीय छलफल भएको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाबीचको विवादलाई तत्काल समाधान गर्न र शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चाल्ने निर्णय गरेको एक उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिए ।



    बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की लगायत गृह मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। केही समयअघि हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको विवादका क्रममा बाजुराका स्थानीय बासिन्दाहरू कुटिएका थिए। उक्त घटनामा संलग्न रहेको आरोपमा हुम्लाका ७ जना विरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनीहरू हालसम्म पक्राउ नपरेको विषयमा बैठकमा गम्भीर छलफल भएको ती अधिकारीले बताए।

    गृह मन्त्रालयले यसअघि नै उक्त विवादको अध्ययन गर्न एक प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिको प्रतिवेदन आउन बाँकी रहे पनि मन्त्रालयले दुवै पक्षबीच संवाद गराई स्थिति नियन्त्रणमा लिन पहल लिने निर्णय गरेको छ ।

    बैठक पछि गृह मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘हुम्ला र बाजुराको विवादलाई लिएर दुई पक्षीय वार्ताहरू पनि भइरहेका छन्। हामी छिट्टै एसएसपी नेतृत्वको टोलीको प्रतिवेदन प्राप्त गर्नेछौँ र त्यसकै आधारमा थप ठोस कदम चालिनेछ। हाललाई दोषीहरूलाई कानुनी प्रक्रियामा ल्याउन र सीमा विवादलाई दीर्घकालीन रूपमा सल्टाउन सुरक्षा निकायहरूलाई निर्देशित गरिएको छ।’

    केन्द्रीय सुरक्षा समितिले दुवै जिल्लाका प्रशासन र सुरक्षा निकायलाई संयमित रहन र स्थानीय स्तरमा सद्भाव कायम राख्न समेत आह्वान गरेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट