logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य

    दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य

    351
    SHARES
    दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य

    काठमाण्डौ । दीर्घकालीन प्रकृतिका सबै परियोजनाको कर्जामा ब्याज पुँजीकरण गर्ने बाटो खुला भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यो व्यवस्था गरेको हो । यस कदमसँगै लामो समयसम्म निर्माण चरणमा रहने र ढिलो प्रतिफल दिने परियोजनाका लगानीकर्तालाई राहत मिलेको छ ।



    यसअघि बैंकले तोकेको ग्रेस अवधि सकिएपछि परियोजनाको उत्पादन सुरु नभए पनि ऋणीले अनिवार्य रूपमा ब्याज तिर्नुपर्ने बाध्यता थियो । अब भने व्यावसायिक उत्पादन वा सञ्चालनबाट नगद प्रवाह नहुँदासम्मको अवधिको ब्याजलाई ऋणमै जोडेर पुँजीकरण गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । स्पष्टताका लागि राष्ट्र बैंकले दीर्घकालीन परियोजना भन्नाले परियोजनाको व्यावसायिक सञ्चालन वा उत्पादनबाट नगद प्रवाह सुरु हुन कम्तीमा २ वर्ष लाग्ने परियोजना भनेर परिभाषित समेत गरेको छ ।

    यस्ता छन् परिवर्तित मुख्य व्यवस्थाहरू

    पहिले के थियो ?
    सीमित क्षेत्रमा मात्र छुट: ग्रेस अवधिमा पाकेको ब्याजलाई सामान्यतया पुँजीकरण गर्न पाइँदैनथ्यो । जलविद्युत, सिमेन्ट, कृषि, होटल जस्ता तोकिएका केही निश्चित प्राथमिकताप्राप्त क्षेत्रमा मात्र औचित्यका आधारमा ब्याज पुँजीकरण गर्न पाइने व्यवस्था थियो ।

    ब्याज तिर्ने बाध्यता: बैंकले दिएको ग्रेस अवधि सकिएपछि, परियोजना निर्माणकै चरणमा रहेर उत्पादन सुरु नभएको अवस्थामा पनि ऋणीले खल्तीबाटै भए पनि ब्याज तिर्नुपर्ने बाध्यता थियो ।

    लगानीकर्तालाई दबाब: आम्दानी सुरु नहुँदै ब्याज तिर्नुपर्दा दीर्घकालीन परियोजनामा लगानी गर्ने लगानीकर्ताहरू चरम वित्तीय दबाबमा पर्थे ।

    अहिले के छ ?
    सबै दीर्घकालीन परियोजनालाई खुला: कर्जा सम्झौतामै उल्लेख गरेर कम्तीमा २ वर्ष निर्माण अवधि लाग्ने जुनसुकै दीर्घकालीन प्रकृतिका परियोजनामा कर्जा प्रवाह गर्दा ब्याज पुँजीकरण गर्न पाइनेछ ।

    उत्पादन नहुँदासम्म राहत: परियोजनाको व्यावसायिक सञ्चालन वा उत्पादनबाट नगद प्रवाह (आम्दानी) सुरु नहुँदासम्मको ग्रेस अवधिमा पाकेको ब्याजलाई पुँजीकरण (ब्याजलाई साँवामा परिणत) गर्न सकिनेछ ।

    छुट्टै लेखांकन: यसरी पुँजीकरण गरिएको ब्याजलाई बैंकहरूले ‘ब्याज पुँजीकरण आवधिक कर्जा’ शीर्षकमा छुट्टै लेखांकन गर्नुपर्नेछ । आम्दानी सुरु नभएसम्म ऋणीले किस्ता र ब्याजको तनाव झेल्नु पर्नेछैन ।

    ब्याज पुँजीकरणका सर्त र प्रक्रिया

    राष्ट्र बैंकले ब्याज पुँजीकरणको सुविधा दिए पनि यसको दुरुपयोग रोक्न बैंकहरूले अनिवार्य रूपमा कार्यविधि बनाउनुपर्ने व्यवस्था गरेको छ । बैंकहरूले ब्याज पुँजीकरण गरिने क्षेत्र, परियोजनाको नगद प्रवाहको यथार्थपरक विश्लेषण, पुँजीकृत ब्याजको भुक्तानी सर्त र प्रस्तावित कर्जा स्वपुँजी अनुपातसमेत समेटेर सञ्चालक समितिबाट कार्यविधि पास गर्नुपर्नेछ । यस्तो ब्याज पुँजीकरण गर्ने निर्णय सञ्चालक समितिबाटै हुनुपर्नेछ ।

    जलविद्युत र प्राकृतिक प्रकोपमा परेकालाई थप सहुलियत

    निर्देशनमा ग्रेस अवधि थप गरी ब्याज पुँजीकरण गर्दा कर्जालाई पुनरसंरचना गरेको मानिने र २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने नियम छ । तर, जलविद्युत आयोजना सम्पन्न भएर पनि प्रसारण लाइन नबनेका कारण पूर्ण क्षमतामा चल्न नसकेमा, आम्दानीले नधानेको हदसम्मको ब्याजलाई आंशिक पुँजीकरण गर्न पाइने व्यवस्था समेत गरिएको छ । तर यसलाई पुनरसंरचना मानिने छैन ।

    त्यसैगरी, प्राकृतिक प्रकोप वा हुलदङ्गाका कारण क्षति भई पुनः सञ्चालन हुन कम्तीमा २ वर्षभन्दा बढी लाग्ने अवस्था आएमा, भाखा नाघेको साँवा र ब्याज असुल गरी थप ग्रेस अवधि दिएर उक्त अवधिको ब्याज पुँजीकरण गर्न सकिनेछ । यसलाई पुनरसंरचना मानिए पनि कर्जा नोक्सानी व्यवस्था १२.५ प्रतिशत मात्र कायम गरे पुग्ने सहुलियत दिइएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ११ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट