काठमाण्डौ । धनुषामा कृषकलाई वितरण गर्न छुट्याइएका माछाका भुरा खरिद तथा वितरणमा ७२ लाख ५९ हजार ९० रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा तत्कालीन जिल्ला कृषि विकास कार्यालय, धनुषाका कार्यालय प्रमुख सुकेश्वर झा, तत्कालीन लेखापाल रामचन्द्र ठाकुर, तत्कालीन प्राविधिक सहायक देवेन्द्रलाल कर्ण तथा सुदिश माछापालन केन्द्रका सञ्चालक राम सुदिश शरणविरुद्ध आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०७४/७५ मा कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमअन्तर्गत मत्स्य भुरा वितरणका लागि विनियोजित २ करोड ३४ लाख २८ हजार रुपैयाँमध्ये माछाका भुरा वितरणका क्रममा अनियमितता गरिएको थियो ।
अनुसन्धानबाट केही मात्रामा सरकारी फार्मबाट माछाका भुरा खरिद गरी बाँकी निजी माछा फार्मबाट खरिद गरेको देखाइएको, तर वास्तविक रूपमा प्राप्त नभएका भुराको नक्कली बिल तयार गरिएको तथा वितरण नै नगरेका कृषकका नाममा नक्कली भरपाई, विवरण र हस्ताक्षर तयार गरी सरकारी रकम भुक्तानी गरिएको खुलेको आयोगले जनाएको छ ।
आयोगका अनुसार उक्त कार्यबाट ७२ लाख ५९ हजार ९० रुपैयाँ बराबरको सरकारी रकम हिनामिना भएको देखिएकाले तीन सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबर जरिवाना, कैद तथा बिगो असुलको माग गरिएको छ । निजी माछापालन केन्द्रका सञ्चालक शरणलाई पनि गैरकानुनी लाभ प्राप्त गर्नेमतियारको रूपमा मुख्य कसुरदारसरह सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
अर्थ चाैतारी ।