काठमाण्डौ । सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार यस्तो आदेश दिएको हो।
उनका छोरा मनोज कुमार महतोले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। ‘निवेदकलाई अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए आजै थुनामुक्त गर्नु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएको हुँदा निवेदक लक्ष्मी महतो कोईरीलाई आजै थुनामुक्त गरी दिनुहुन आदेशानुसार अनुरोध गरिन्छ’ आदेशमा भनिएको छ।
सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा एमाले नेता एवं पूर्वसांसद कोइरी यही असार १८ गते पक्राउ परेका थिए। असार १८ गते साँझ प्रहरी टोलीले गौशाला नगरपालिका-५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट गौशाला नगरपालिका-२, निगौल निवासी पूर्व सांसद कोइरीलाई पक्राउ गरेको थियो।
जिल्ला अदालत महोत्तरीको आदेशपछि उनलाई असार १९ गते कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको थियो। मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको थियो। उनको हत्या आरोप उच्च अदालत जनकपुरधामले २०८३ असार १७ गते पाँच वर्ष कैद सजाय सुनाएको थियो।
यसअघि महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते उनलाई सफाइ दिएको थियो। जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत जनकपुरधामले कर्तव्य ज्यान मुद्दामा कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो।
सो मुद्दामा जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका प्रदेश सांसद अभिराम शर्मालाई पनि उच्च अदालतले पाँच वर्षको कैद सजाय तोकेको हो। सो मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा दोषी ठहर जिल्ला अदालतकै फैसला उच्च अदालतले सदर गरिएको छ।
जिल्ला अदालतबाट सफाइ पाएका अन्य अभियुक्त अभिषेक शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरलाई जनही पाँच वर्ष कैद सजायको फैसला सुनाइएको हो।
अर्थ चाैतारी ।