काठमाण्डाै । चालु आर्थिक वर्षको चैत सम्ममा बीमाको दायरा (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) करिब साढे ३७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तुलनामा बीमाको पूहँच १०.५६ प्रतिशतले बढेर ३७.३४ प्रतिशत पुगेको हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बीमाको पहुँच २६.७८ प्रतिशत जनसंख्यामा पुगेको थियो । म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक पनि बीमाको पहुँच ३४.५१ प्रतिशत पुगेको बीमा समितिले जनाएको छ । गत आर्थिक वर्षका यस अवधिमा २४.५२ प्रतिशत मात्रै रहेको थियो ।
पछिल्लो समय म्यादी बीमालेखमा आकर्षण बढेपछि दायरा विस्तार थप सहयोग पुगेको बीमा समितिले जनाएको छ । जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उल्लेख सुधार भएको समितिको भनाई छ ।
यस्तै समितिले सरकारको लक्ष्य अनुसार दायरा विस्तार गर्न प्रदेश तथा स्थानीय सरकारसँग छलफल तथा अन्तकृया कार्यक्रमलाई तीव्रता पनि दिइरहेको छ । समितिले प्रदेश तथा स्थानिय सरकारसंग छलफलको कामलाई तिव्रता दिएसंगै दायरा विस्तारको लक्ष्य पूरा भएको समितिको दाबी छ ।
चालु आर्थिक वर्षको चैतसम्ममा जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमाले सहित) १ करोड ९ लाख ३८ हजार ८७१ वटा बीमालेख जारी भएको समितिको तथ्यांक छ । यो गत आर्थिक वर्षको तुलनामा ४२.७८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ७६ लाख ६१ हजार ३५० वटा बीमालेख जारी गरेको थियो ।
यस्तै बैदेशिक रोजगार बीमालेख संख्या पनि २६.६९ प्रतिशतले बढेर ८ लाख ५२ हजार ८२७ वटा जारी भएका छन् । गत आर्थिक वर्षको चैतमसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ६ लाख ७३ हजार १८४ वटा बीमालेख बिक्री गरेका थिए । कुल जीवन बीमालेख संख्या ४१.४८ प्रतिशतले बढेर १ करोड १७ लाख ९१ ह्जार ६९८ वटा पुगेको छ । यस्तै बीमाशुल्क पनि ९.१३ प्रतिशतले बढेर एक खर्ब २ अर्ब ४२ करोड रुपैयाँ पुगेको बीमा समितिको तथ्यांक छ ।
अर्थ चाैतारी ।