काठमाण्डौ । स्वदेशमै उत्पादन हुँदै आएका प्रसिद्ध ब्याट्री ब्रान्डहरू एसटीसी राइड तथा एसटीसी एनर्जीले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन उत्कृष्ट खेलाडीहरूलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको छ ।
राष्ट्रिय टोलीका खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई र दीपा शाहीलाई एसटीसी इनर्जी इन्डस्ट्रिजले ब्रान्ड एम्बेस्डर बनाएको हो । सम्झौताअनुसार राष्ट्रिय टोलीकी प्रख्यात फरवार्ड खेलाडी रेखा पौडेल तथा प्रतिभाशाली युवा खेलाडी दीपा शाहीले एसटीसी राइडको प्रतिनिधित्व गर्नेछन्। त्यस्तै, राष्ट्रिय टोलीसँग आबद्ध अनुभवी खेलाडी मनमाया दमाईलाई एसटीसी इनर्जीको ब्रान्ड एम्बेस्डरको रूपमा अनुबन्ध गरिएको छ ।
घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका यी तीनै खेलाडीहरूले आफ्नो अनुभव, ऊर्जावान प्रतिभा र समर्पणका माध्यमबाट नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।
नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय श्री एसटीसी ग्रुपले विगत लामो समयदेखि गुणस्तरीय र भरपर्दो ऊर्जा समाधान उपलब्ध गराउँदै आएको छ । कम्पनीका प्रमुख उत्पादनहरू ‘एसटीसी राइड’ र ‘एसटीसी इनर्जी पूर्ण रूपमा आधुनिक प्रविधिमा आधारित ‘मेड इन नेपाल’ ब्याट्री ब्रान्डहरू हुन् ।
नेपाली सडक, यहाँको मौसम र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर स्वदेशमै उत्पादन गरिएका यी ब्याट्रीहरूले उच्च कार्यक्षमता, लामो आयु र भरपर्दो प्रदर्शन प्रदान गर्दै आएका छन् ।
विशेषगरी दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा ऊर्जा र पावर ब्याकअप क्षेत्रमा यो ब्रान्ड निकै लोकप्रिय बन्दै गइरहेको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै एसटीसी ग्रुपका प्रबन्ध निर्देशक एवं नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपाली खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा कम्पनीले गर्व महसुस गरेको बताए ।
अर्थ चाैतारी ।