logo

२०८३ जेष्ठ ६, बुधबार

logo
  • २०८३ जेष्ठ ६, बुधबार
  • उबरले काठमाण्डौमा सुरू गर्‍यो टेस्ट ड्राइभ, ट्याक्सीमान्डु रणनीतिक साझेदार

    उबरले काठमाण्डौमा सुरू गर्‍यो टेस्ट ड्राइभ, ट्याक्सीमान्डु रणनीतिक साझेदार

    156
    SHARES
    उबरले काठमाण्डौमा सुरू गर्‍यो टेस्ट ड्राइभ, ट्याक्सीमान्डु रणनीतिक साझेदार

    काठमाण्डौ । विश्वप्रसिद्ध अमेरिकी यात्रा साझेदार कम्पनी उबरले काठमाण्डौमा टेस्ट ड्राइभ सुरू गरेको छ। ट्याक्सीमान्डुसँगको रणनीतिक साझेदारीमा उबर अहिले नेपाल प्रवेश गरेको हो। ‘आजबाट हामीले काठमाण्डौमा उबरको टेस्ट ड्राइभ सुरु गरेका छौँ,’ ट्याक्सीमान्डुका संस्थापक अर्जुन केसीले भने।



    उबरलाई नेपालमा स्थापित गर्न ब्याक–अफिसको रुपमा सहयोग गर्ने जिम्मेवारी ट्याक्सीमान्डुले पाएको छ। ‘उबरको प्रविधि नेपाल ल्याउने, त्यसको प्रयोगको परीक्षण गर्ने, राइड सेयरिङको लागि ड्राइभर खोज्ने र उनीहरूलाई प्रशिक्षित गर्ने जिम्मेवारी ट्याक्सीमान्डुको छ,’ केसीले भने, ‘अहिले हामीले टेस्टिङ लन्च गरेको हो। हप्ता दश दिनमा उबरको तर्फबाट औपचारिक रुपमा राइड सेयरिङ लन्च भएको घोषणा हुन्छ।’

    एक साता अगाडि उबरसँग रणनीतिक साझेदारीको सम्झौता गरेको उनले बताए। ‘आजबाट उबरको एप्लिकेशनमार्फत राइड सेयरिङ बुक गरेर यात्रा गर्न मिल्ने भएको छ। यो परीक्षणको लागि सुरु गरिएको हो। केही समय प्रविधिको परीक्षण गर्ने योजना छ,’ उनले भने।

    यसअघि ट्याक्सीमान्डुले याङ्गोलाई पनि नेपाल भित्र्याउन सहजीकरण गरेको थियो। याङ्गो र ट्याक्सीमान्डुले एक वर्ष सहकार्य गरेका थिए। अहिले ट्याक्सीमान्डु याङ्गो छाडेर उबरको रणनीतिक साझेदार बनेको हो। अमेरिकी राइड–हेलिङ कम्पनी उबर सतप्रतिशत वैदेशिक लगानी सहित नेपाल आउने भएको छ।

    उबर नेपाल आउनका लागि २०७४ साउन १ गते नै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएको थियो। काठमाण्डौ महानगरपालिका वडा नम्बर २९ मा कार्यालय रहने गरी ‘उबर नेपाल’ दर्ता भएको थियो। राइड सेयरिङ व्यवसाय मोबाइल एपबाट चल्छ। सरकारले यसलाई सूचना प्रविधि अर्थात् आइटी उद्योग अन्तर्गत राखेको छ। यो व्यवसायमा २ करोड रुपैयाँ भए पनि विदेशी लगानी स्वीकार्य हुन्छ।

    उबर नेपाल दर्ता हुँदा नेपालमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ जारी भएको थिएन। अहिले यो ऐनले प्रविधि क्षेत्रमा शतप्रतिशत विदेशी लगानी खुल्ला गरेको छ। सोही आधारमा उबर शतप्रतिशत लगानीमा नेपाल आएको हो। तर, कम्पनीमा सुरुमा कति लगानी गर्ने भन्ने खुलाएको छैन। ‘लगानी र अन्य रणनीतिक विषयमा अहिले हामीले सार्वजनिक गर्न मिल्दैन। केही दिनमा उबरका प्रतिनिधिले नै यो विषय सार्वजनिक गर्छन।

    ट्याक्सीमाण्डुले प्रविधि परीक्षणमा सहयोग गर्ने मात्रै हो,’ केसीले भने। उबरका कार, बाइक सेयरिङ सेवा अन्तर्गत पाँच फरक–फरक श्रेणीका सेवाहरू छन्। उबर एक्स, उबर मोटो, उबर एक्सएल, उबर प्रिमियर तथा उबर अटो भनेर विभिन्न श्रेणीमा उबरले राइड सेयरिङ चलाउँछ।

    त्यसैगरी, ग्राहकलाई ग्रोसरी, औषधि र रेष्टुराँको खाना डेलिभरी गर्ने अर्को सेवा पनि चर्चित छ। पार्सल लजिष्टिक, उबेर रेन्टल, रिजर्भ र कार्गोको ढुवानी सेवा यसले प्रदान गर्छ। भारत र अमेरिकामा महिलाहरुका लागि महिलाले नै सवारी साधन चलाउने फिचर पनि उबरले प्रयोगमा ल्याएको छ।

    विदेशमा उबरले निजी कारलाई समेत व्यावसायिक राइड–हेलिङ सेवा प्रदान गर्छ। तर नेपालमा भने निजी सवारी साधन (रातो प्लेट)ले भाडामा यात्रु बोक्न पाउने कानुनी व्यवस्था छैन। अहिले पठाओ, इनड्राभ र याङ्गोले नेपालमा राइड–सेयरिङ सेवा दिइरहेका छन्। उनीहरुले विशेषगरी ट्याक्सी र मोटरसाइललाई राइड–सेयरिङमा जोडेका छन्।

    निजी सवारी साधन (मोटरसाइकल)लाई यात्रु बोक्ने काममा प्रयोग गरेको भनेर यसको विरोध पनि हुँदै आएको छ। तर, विश्वप्रसिद्ध कम्पनी उबर नै राइड सेयरिङको लागि नेपाल आएपछि सरकारले राइड–सेयरिङलाई कसरी कानुनी वैधता दिन्छ भन्ने प्रश्न झनै पेचिलो बनेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट