logo

२०८३ जेष्ठ ७, विहिबार

logo
  • २०८३ जेष्ठ ७, विहिबार
  • नाफा कमाउने सरकारी संस्थानले नै तिर्दैनन् सरकारको ऋण, पौने तीन खर्ब बढी बक्यौता

    नाफा कमाउने सरकारी संस्थानले नै तिर्दैनन् सरकारको ऋण, पौने तीन खर्ब बढी बक्यौता

    130
    SHARES
    नाफा कमाउने सरकारी संस्थानले नै तिर्दैनन् सरकारको ऋण, पौने तीन खर्ब बढी बक्यौता

    काठमाण्डौ । नाफामा रहेका ठूला सार्वजनिक संस्थानहरूले नै सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँको सावाँ–ब्याज भुक्तानी नगरेको तथ्य सार्वजनिक भएको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले नाफा कमाउने संस्थानहरूकै कारण राज्यको ढुकुटीमा ठूलो दबाब परेको उल्लेख गरेको छ ।



    प्रतिवेदनअनुसार नेपाल सरकारले वैदेशिक स्रोतबाट ऋण लिएर ३८ वटा सार्वजनिक संस्थानहरूमा पुनः लगानी गरेको छ । तर ती संस्थानहरूले समयमै सावाँ–ब्याज फिर्ता नगर्दा २ खर्ब ८२ अर्ब ३४ करोड ५६ लाख रुपैयाँ बराबरको दायित्व भाखा नाघिसक्दा पनि असुल हुन सकेको छैन ।

    यसमध्ये ३६ वटा संस्थानको १ खर्ब ६३ अर्ब ८२ करोड ६ लाख रुपैयाँ सावाँ र ३४ वटा संस्थानको १ खर्ब १८ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ ब्याज बक्यौता रहेको छ । सरकारको कुल ऋण लगानी ५ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ पुगेको सन्दर्भमा हेर्दा, झन्डै आधा हिस्सा (४९.२७ प्रतिशत) भाखा नाघेको सावाँमै अड्किएको देखिन्छ ।

    अझ चिन्ताजनक पक्ष के छ भने, यस्तो बक्यौता रकम गत वर्षको तुलनामा २६२.८२ प्रतिशतले वृद्धि भएको छ, जसले सरकारी लगानीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ । प्रतिवेदनले देखाएअनुसार सरकारलाई सावाँ–ब्याज नतिर्ने ८० वटा निकायमध्ये केवल १० वटा ठूला संस्थानहरूको हिस्सा मात्रै कुल बक्यौताको ९५ प्रतिशत रहेको छ ।

    यीमध्ये नेपाल विद्युत् प्राधिकरण, काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र साना किसान विकास लघुवित्तजस्ता संस्थाहरू अग्रपङ्क्तिमा छन् । आर्थिक सर्वेक्षणअनुसार यी संस्थानहरूले वार्षिक अर्बौँ रुपैयाँ नाफा आर्जन गरिरहेका छन्, तर सरकारको ऋण तिर्न भने निरन्तर आलटाल गरिरहेका छन् ।

    ती संस्थानहरूले आफ्नो आम्दानी सरकारको खातामा दाखिला नगरी न्यून ब्याज आउने मुद्दती वा चल्ती खातामा राख्ने प्रवृत्ति देखिएको छ । यसले सङ्घीय सञ्चित कोषमा प्रत्यक्ष असर पार्दै राज्यलाई दोहोरो आर्थिक दबाबमा पारेको छ । सबैभन्दा ठूलो बक्यौता नेपाल विद्युत् प्राधिकरणको देखिएको छ, जहाँ वित्तीय अभिलेखमै अन्तर भेटिएको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्राधिकरणमा ३ खर्ब ५० अर्ब ६ करोड २० लाख रुपैयाँ ऋण लगानी भएको देखाएको छ भने प्राधिकरणको वित्तीय विवरणमा २ खर्ब ७५ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ मात्र उल्लेख छ । यसरी ७४ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ बराबरको ऋणको हिसाब नै मेल खाएको छैन ।

    ब्याजतर्फ पनि उस्तै अवस्था छ । प्राधिकरणले ३५ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ ब्याज दायित्व देखाएको छ भने महालेखाको अभिलेखमा भाखा नाघेको ब्याज मात्रै १ खर्ब २ अर्ब ९८ करोड ६७ लाख रुपैयाँ उल्लेख छ । यसरी ६७ अर्ब ५४ करोड ३१ लाख रुपैयाँ ब्याजको हिसाबमै अन्तर देखिएको छ । सञ्चालनतर्फ २३ अर्ब १२ करोड ८० लाख रुपैयाँ नाफा कमाएको संस्थानले ऋण दायित्व भने स्पष्ट रूपमा व्यवस्थापन गर्न नसक्नुले थप प्रश्न उठाएको छ ।

    सरकारी ढुकुटीमा यसको प्रत्यक्ष असर देखिएको छ । संस्थानहरूले सावाँ–ब्याज नतिर्दा सरकारले भने दातृ निकायलाई अन्य स्रोतबाट भुक्तानी गर्नुपरेको छ । चालु वर्षमा मात्रै सरकारले वैदेशिक ऋणको सावाँमा ४७ अर्ब २८ करोड ५८ लाख र ब्याजमा १० अर्ब १६ करोड ९५ लाख रुपैयाँ तिरेको छ ।

    त्यसैगरी, विनिमय दरको उतारचढावले थप जोखिम सिर्जना गरेको छ । नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर हुँदा मात्रै यो वर्ष ६५ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ अतिरिक्त भार थपिएको छ । एक वर्षकै अवधिमा डलरको भाउ १३३.९६ रुपैयाँबाट बढेर १४८.६७ रुपैयाँ पुग्दा सार्वजनिक ऋणमा १ खर्ब १५ अर्ब ७५ करोड ७३ लाख रुपैयाँ बराबरको थप व्ययभार परेको छ ।

    अन्य संस्थानहरूको अवस्था पनि सन्तोषजनक छैन । नेपाल वायुसेवा निगमले सरकारको जमानीमा लिएको ३४ अर्ब रुपैयाँ ऋणको सावाँ–ब्याज भुक्तानी नगर्दा दायित्व बढेर ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । निगमले टिकट बिक्रीको ३० प्रतिशत रकम विशेष खातामा जम्मा गर्नुपर्ने सर्तसमेत पालना नगरेको र ब्याजलाई पुँजीकरण गर्दै लगेको पाइएको छ ।

    नेपाल खानेपानी संस्थान र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा पनि अर्बौँ रुपैयाँ बक्यौता रहेको छ । साना किसान विकास लघुवित्तजस्ता नाफामा रहेका संस्थाहरूले समेत सरकारी सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान लिने तर सावाँ फिर्ता नगर्ने प्रवृत्ति देखिएको छ ।

    महालेखापरीक्षकले यस अवस्थालाई ‘वित्तीय अराजकता’को संज्ञा दिएको छ । संस्थानहरूले सावाँ–ब्याज नतिरी आफ्नै खातामा रकम थुपार्दा सरकारले आन्तरिक ऋण लिएर दातृ निकायलाई भुक्तानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ, जसले राज्यलाई दोहोरो आर्थिक नोक्सानी गरिरहेको छ ।

    समाधानका लागि प्रतिवेदनले एकीकृत नगद व्यवस्थापन प्रणाली लागू गरी संस्थानहरूको खातामा रहेको रकम राज्यले उपयोग गर्न सक्ने व्यवस्था गर्न सुझाव दिएको छ । साथै, समयमै असुली नगर्ने पदाधिकारीलाई जिम्मेवार बनाउन र वर्षौँदेखि नमिलेको ऋणको हिसाब तत्काल टुङ्ग्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट