काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन्। सञ्चार तथा सूचना मन्त्रालयले वैशाख २६ गते १० दिनको समय दिएर प्राधिकरण र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी प्रमुखको लागि आवेदन मागेको थियो । मन्त्रलायले प्राधिकरणको अध्यक्ष र चार सदस्य पदका लागि मंगलबारसम्को समय दिएर आवेदन मागेको थियो ।
सूचना तथा सञ्चार मन्त्रालका सूचना अधिकारी रवीन्द्रप्रसाद पौडेललका अनुसार प्राधिकरणको एक जना अध्यक्ष पदका लागि ३२ जना र चारवटा सदस्य पदका लागि ३३ जनाले आवेदन दिएका छन् । अध्यक्ष पदका लागि हालका प्राधिकरणकै कर्मचारीदेखि नेपाल टेलिकमका पूर्वप्रबन्ध कर्मचारीसहितका व्यक्तिहरु मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। केही उम्मेदवारले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएको पनि पाइएको छ ।
मन्त्रालयले मागेको आवेदनमा प्राधिकरणको अध्यक्षबाहेक प्राविधिक वा प्रशासनिक सदस्यमा १५ जना, लेखा तथा लेखापरीक्षण सदस्यमा ९ जना, बजार व्यवस्थापन सदस्यमा ५ जना र कानुनी सदस्यमा ४ जनाले आवेदन दिएको पौडेलले बताए । उनका अनुसार सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा भने ११ जनाले आवेदन दिएका छन् ।
आवेदन दिएका मध्येबाट सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइनेछ। त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने र मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान छ।
बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै १५ सय ९४ जना पदमुक्त भएका थिए। सरकारले सम्बन्धित मन्त्रालय र तालुक निकायमाफर्फत रिक्त रहेका सबै क्षेत्रमा नयाँ नियुक्ति गर्दै छ ।

अर्थ चाैतारी ।