काठमाण्डौ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले बालेन शाह नेतृत्वको सरकारले आर्थिक वर्ष २०८३८४ का लागि प्रस्तुत गरेको बजेटलाई “समग्र रूपमा सकारात्मक र आशावादी” भन्दै स्वागत गरेका छन्। शुक्रबार शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत बजेटबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। शर्माले बजेटले नीतिगत तथा कानुनी सुधारमार्फत कार्यसम्पादन सहज बनाउने उद्देश्य राखेको उल्लेख गर्दै औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखिनु सकारात्मक पक्ष भएको बताएका छन्।
ऊर्जा, पर्यटन तथा खनिज क्षेत्रलाई समेत महत्त्व दिइएको भन्दै उनले यसले उत्पादन र रोजगारी विस्तारमा योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार सूचना प्रविधि ९आइटी० क्षेत्रको विकास, आइटी निर्यात वृद्धि तथा कृत्रिम बौद्धिकता र नवप्रवर्तनमार्फत उत्पादन वृद्धि गर्ने दिशामा बजेटले विशेष ध्यान दिएको देखिन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका कार्यक्रम समेटिनुका साथै सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशलाई प्राथमिकतामा राखिनु पनि सकारात्मक रहेको उनको भनाइ छ।
कृषि क्षेत्रमा आवश्यकताअनुसार बजेट पर्याप्त नभएको टिप्पणी गर्दै पनि उनले समग्र बजेटलाई समयसापेक्ष र सन्तुलित प्रयासका रूपमा व्याख्या गरेका छन्। सुशासन, पारदर्शिता र राजनीतिक प्रतिबद्धता कार्यान्वयनतर्फ केन्द्रित भएको उल्लेख गर्दै उनले बजेटले आर्थिक सुधारको आधार तयार गर्न सक्ने बताएका छन्।
तर, बजेट कार्यान्वयन नै सबैभन्दा ठुलो चुनौती रहेको शर्माको भनाइ छ। उनले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न आवश्यक लगानी सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। बैंक तथा वित्तीय क्षेत्रको सकारात्मक भूमिकासहित निजी क्षेत्रबाट करिब १५ देखि १६ खर्ब रुपैयाँ थप लगानी जुट्न सके मात्र लक्ष्यअनुसारको आर्थिक वृद्धि सम्भव हुने उनको विश्लेषण छ।
उनले जनमतको सदुपयोग गर्दै सरकारले प्रभावकारी कार्यान्वयन गर्न सके बजेटले आर्थिक वृद्धि र सुशासनका क्षेत्रमा सकारात्मक परिणाम दिन सक्ने विश्वास व्यक्त गर्दै सरकारलाई शुभकामना दिएका छन्।
अर्थ चाैतारी ।