काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मर्जर प्रक्रिया सम्पन्न गरी शुक्रबार (असार २६ गते) देखि एकीकृत कारोबार सुरु गरेका छन्। दुवै वित्तीय संस्था १ः१ को सेयर स्वाप अनुपातमा मर्ज भई ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएका हुन्। मर्जरपश्चात् कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको पुतलीसडकस्थित साविक समृद्धि फाइनान्सको कार्यालयमा रहनेछ।
मर्जरपछि संस्थाको व्यवस्थापनका लागि ७ सदस्यीय सञ्चालक समिति गठन गरिने भएको छ। जसमा साविक समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे तथा पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ रहनेछन्। एकीकृत संस्थाको अध्यक्षको जिम्मेवारी हालका अध्यक्ष अजय मिश्रले नै सम्हाल्नेछन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश गुरुङ नियुक्त हुने सहमति भएको छ।
मर्जरसँगै कम्पनीको वित्तीय आकार समेत बलियो बनेको छ। साविक पोखरा फाइनान्सको १ अर्ब ८ करोड २५ लाख र समृद्धिको ८१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेकामा मर्जपछि एकीकृत कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुग्नेछ। एकीकृत संस्थाको शाखा सञ्जाल ३६ पुगेको छ भने कर्मचारी संख्या करिब ३ सय रहने कम्पनीले जनाएको छ।
अर्थ चाैतारी ।