काठमाण्डौ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि परेका आवेदनहरूमध्येबाट ८ जना उम्मेदवारहरू संक्षिप्त सूची (सर्टलिस्ट) मा छानिएका छन्। लगानी बोर्डको सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिको कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको नामावली तथा उनीहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको समय तालिका घोषणा गरेको हो।
छनोटमा परेका उम्मेदवारहरूमा सुमन मान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्द प्रसाद पौड्याल, डा. सरोज कोइराला, याङकी उक्याब, बखत बहादुर शाही, मनोज पौडेल र ई. मधु प्रसाद भेटुवाल रहेका छन्। सर्टलिस्टमा परेका सबै उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजना हुनेछ।
जसअनुसार साउन ७ गते सुमन मान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्द प्रसाद पौड्याल र डा. सरोज कोइरालाको प्रस्तुतीकरण तय गरिएको छ भने साउन ८ गते याङकी उक्याब, बखत बहादुर शाही, मनोज पौडेल र ई. मधु प्रसाद भेटुवालको समय तोकिएको छ।
समितिका अनुसार प्रत्येक उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १ घण्टाको समय प्रदान गरिनेछ। उम्मेदवारहरूले आफूलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै कार्ययोजनाको सफ्टकपी तथा पेस गरिएका सम्पूर्ण कागजातका सकल प्रतिसहित उपस्थित हुनुपर्नेछ।
लगानी बोर्डको नेतृत्व रिक्त रहेका बेला देशमा वैदेशिक लगानी भित्र्याउन र ठूला पूर्वाधार आयोजनाहरू अघि बढाउन योग्य एवं कुशल नेतृत्व चयन गर्ने प्रक्रियालाई सिफारिस समितिले तीव्र बनाएको हो।
अर्थ चाैतारी ।