नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री निवास नजिकै मंगलबार दिउँसो साढे ३ बजेदेखि धर्नामा बसेका कांग्रेस नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले साँझ साढे ६ बजे नियन्त्रणमा लिएको छ । प्रहरीले कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, मल्लिकार्जुन खड्गे र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहितका धेरै नेताहरूलाई हिरासतमा लिएको हो ।
तीन घण्टासम्म चलेको धर्नाका क्रममा सरकारका तर्फबाट राहुल गान्धीसँग दुई पटक वार्ताको प्रयास गरिएको थियो, तर सहमति हुन सकेन। त्यसपछि करिब १०० भन्दा बढी प्रहरीहरू घटनास्थल पुगेका थिए। प्रहरी पुगेपछि कांग्रेस कार्यकर्ताहरूले राहुल गान्धीको वरिपरि घेरा बनाएर प्रहरीलाई उनीसम्म पुग्न रोक्ने प्रयास गरेका थिए ।
सो क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताहरूबिच करिब आधा घण्टासम्म धकेलाधकेल भएको थियो । भिडलाई तितरवितर पार्न प्रहरीले लाठीचार्ज समेत गरेको थियो। अन्ततः एक दर्जनभन्दा बढी प्रहरीहरूले नेताहरूलाई उठाएर बसमा राखी हिरासततर्फ लगेका छन् । प्रदर्शनस्थलबाट हटाउनका लागि केन्द्रीय मन्त्री जितेन्द्र सिंह र गृहसचिव गोविन्द मोहन घटनास्थल पुगेका थिए । उनीहरूले राहुल गान्धीसँग करिब २० मिनेट छलफल गरेका थिए । त्यसपछि जितेन्द्र सिंहले गृहमन्त्री अमित शाहसँग परामर्श गरी पुनः राहुलसँग वार्ता गरेका थिए ।
जितेन्द्र सिंहका अनुसार राहुल गान्धीले सुरुमा संसदमा नीट परीक्षासम्बन्धी विषयमा छलफल गराउन माग गरेका थिए, जसलाई सरकारले स्वीकार गरेको थियो । तर त्यसपछि उनले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामासमेत माग गर्दै दुई बुँदे माग अघि सारेपछि सहमति हुन नसकेको दाबी गरिएको छ।
कांग्रेसले नीट परीक्षा सम्बन्धी विवाद र शिक्षा मन्त्री प्रधानको राजीनामाको माग गर्दै प्रधानमन्त्री निवासतर्फ प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रधानमन्त्री र शिक्षा मन्त्रीविरुद्ध नाराबाजीसमेत गरिएको थियो ।
अर्थ चाैतारी ।