चार निर्माण व्यवसायी कालोसूचीमा (सूचीसहित)

चार निर्माण व्यवसायी कालोसूचीमा (सूचीसहित)

Artha Chautari
अर्थ चौतारी

काठमाण्डौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आएबमोजिम कार्यालयको बिहीबारको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम शुक्रबार सूचना प्रकाशित गरी ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो ।

कार्यालयका अनुसार सडक डिभिजन, चौरजहारी, रुकुम पश्चिमको सिफारिसमा शान्तबहादुर बस्नेत मुख्य व्यक्ति रहेको मालिका बस्नेत निर्माण सेवा (छेडागाड–१३, जाजरकोट) लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, सडक डिभिजन महेन्द्रनगर, कञ्चनपुरको सिफारिसमा हरिस सिंह बुडाल मुख्य व्यक्ति रहेको पञ्चकोटी निर्माण सेवा (भीमदत्त–०६, कञ्चनपुर) लाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यसैगरी, लालीगुराँस नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, बसन्तपुर, तेह्रथुमको सिफारिसमा लिला देवी शाह मुख्य व्यक्ति रहेको आदित्य सप्लायर्स (नेपालगञ्ज उपमहानगरपालिका–१०, बाँके) लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

यता, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि अनुसन्धान भवन, सिंहदरबारप्लाजा, काठमाण्डौको सिफारिसमा सुरेश पण्डित मुख्य व्यक्ति रहेको उज्यालो निर्माण सेवा प्रा.लि. (काठमाण्डौ महानगरपालिका–३५, सुविधानगर) लाई एक वर्षका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले स्पष्ट पारेको छ ।
image 2

रिलेटेड न्युज

छुटाउनुभयो कि ?