logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • नेपाल-रोमानिया व्यापारिक साझेदारी, ‘द्विपक्षीय व्यापारमा तयारी पोशाक प्रमुख’

    नेपाल-रोमानिया व्यापारिक साझेदारी, ‘द्विपक्षीय व्यापारमा तयारी पोशाक प्रमुख’

    260
    SHARES
    नेपाल-रोमानिया व्यापारिक साझेदारी, ‘द्विपक्षीय व्यापारमा तयारी पोशाक प्रमुख’

    काठमाण्डौ । नेपाल र रोमानियाबीच व्यापारिक सम्बन्ध सुदृढ गर्दै नेपालमा रोमानियाली लगानी भित्र्याउने उद्देश्यका साथ काठमाण्डौमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल तयारी पोशाक उद्योग संघको आयोजनामा भएको ‘आरएमजी सेक्टर र नेपाल-रोमानिया बिजनेस फोरम’ विषयक उक्त कार्यक्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्यका विविध आयामबारे गहन छलफल भयो। दुई देशका निजी क्षेत्र र सरकारी प्रतिनिधिहरूले नेपालका लागि रोमानिया युरोपेली बजारमा प्रवेश गर्ने बलियो माध्यम बन्न सक्ने धारणा राखे।



    कार्यक्रममा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले दुई देशबीचको बढ्दो व्यापारिक सम्बन्धबारे तथ्याङ्क प्रस्तुत गरे। उनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट रोमानियातर्फ करिब ११ लाख ७० हजार अमेरिकी डलर बराबरको सामग्री निर्यात भएको छ। सोही अवधिमा रोमानियाबाट नेपालमा करिब ६ लाख ९० हजार अमेरिकी डलर बराबरको आयात भएको जानकारी उनले दिए। नेपालबाट रोमानियातर्फ निर्यात हुने वस्तुहरूमा विशेषगरी तयारी पोशाक मुख्य अग्रपंक्तिमा रहेको र यसलाई अझै विस्तार गर्न सकिने सम्भावना उनले औंल्याए।

     

    लगानीका क्षेत्र र सरकारी प्रतिबद्धता
    कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नेपाल र रोमानियाबीच आर्थिक तथा व्यापारिक साझेदारीको ठूलो सम्भावना रहेको बताए। नेपालले उच्च गुणस्तरका तयारी पोशाक, हस्तकला, जडीबुटीजन्य वस्तु, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा रोमानिया पठाउन सक्ने उनको भनाइ थियो। रोमानियालाई युरोपेली बजारको प्रवेशद्वारका रूपमा चित्रण गर्दै सांसद पराजुलीले पूर्वाधार, जलविद्युत, पर्यटन र सूचना प्रविधि जस्ता उत्पादनमूलक क्षेत्रमा रोमानियाली लगानी भित्र्याउन नेपाल सरकार तयार रहेको उल्लेख गरे। उनले दुई देशबीच सुरक्षित र व्यवस्थित श्रम आप्रवासनको विस्तारले दुवै मुलुकलाई फाइदा पुग्ने धारणा समेत राखे।

    नेपाल, भारत तथा बंगलादेशका लागि रोमानियाकी राजदूत सेना लतिफले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र द्विपक्षीय सहकार्यका क्षेत्रबारे चर्चा गरिन्। उनले रोमानियाको विकासमा त्यहाँ कार्यरत ठूलो संख्याका नेपाली श्रमिकहरूको योगदान महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरिन्। सोही अवसरमा रोमानियाका आर्थिक कन्सुलर इओनुत भिजिरुले रोमानियाको आर्थिक परिदृश्य र त्यहाँ रहेका विकासका सम्भावनाबारे एक प्रस्तुति दिएका थिए।

     

    संस्थागत सहकार्य र भावी दिशा
    दुई देशका निजी क्षेत्रबीचको सम्बन्धलाई संस्थागत रूप दिने प्रयासहरू पनि तीव्र पारिएका छन्। २०८० भदौमा नेपाल तयारी पोशाक संघ र चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री अफ रोमानियाबीच सम्पन्न सहकार्य प्रोटोकलले व्यापार, पूर्वाधार विकास, सीप विकास तालिम र ई-कमर्सका क्षेत्रमा नयाँ ढोका खोलेको व्यवसायीहरूले बताए। नेपाल-रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीकी अध्यक्ष बबिता पाण्डेले यो संस्थाले दुई देशका व्यवसायीबीच दीर्घकालीन सहकार्य र लगानी संवादका लागि पुलको काम गर्ने उल्लेख गरिन्।

    रोमानियाली चेम्बरकी प्रतिनिधि निकोलेटा इओआना चिउफुडियनले दुई देशका वाणिज्य चेम्बरहरूबीचको सहकार्यप्रति खुसी व्यक्त गर्दै अन्तर्राष्ट्रिय व्यापार र उद्यमशीलता प्रवर्द्धनमा यो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्। नेपाल र रोमानियाको आर्थिक परिदृश्य समेटिएका भिडियो सामग्री समेत प्रदर्शन गरिएको उक्त कार्यक्रमको समापन गर्दै संघका प्रथम उपाध्यक्ष वसन्त राज अधिकारीले दुई देशबीचको यो संवादले आगामी दिनमा ठोस आर्थिक नतिजा दिने विश्वास व्यक्त गरे।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट