काठमाण्डौ । नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्समक्ष चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नुभएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को विद्यमान कानुनी व्यवस्थाबमोजिम आगामी आर्थिक वर्षको बजेट वक्तव्य तथा राजस्व र व्ययको अनुमान प्रस्तुत गर्नु अगावै चालु वर्षको यो सर्वेक्षण संसद्मा ल्याइएको हो।
प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. वाग्लेले यो सर्वेक्षणले मुलुकको क्षेत्रगत उपलब्धि, नीतिगत सुधारका प्रयासहरू र समग्र आर्थिक परिदृश्यको विस्तृत विश्लेषण गरेको बताए। यो प्रतिवेदन तयारीका लागि सहयोग पुर्याउने विषयगत मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल राष्ट्र बैंक तथा निजी क्षेत्रप्रति उनले आभार समेत प्रकट गरे।
आर्थिक सर्वेक्षणमा सङ्घीय सरकारका अतिरिक्त प्रादेशिक मन्त्रालयहरू र स्थानीय तहसम्मका आर्थिक गतिविधि तथा विकास व्यवस्थापनका महत्त्वपूर्ण आयामहरूलाई समेटिएको छ। संसद्मा बजेट पूर्वको यो दस्तावेज पेस भएसँगै अब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र नयाँ बजेट निर्माणका लागि ढोका खुलेको छ। सरकारले कानुनी सीमाभित्रै रहेर अर्थतन्त्रको यथार्थ चित्रण प्रस्तुत गरेको दाबी गरेको छ।
अर्थ चाैतारी ।