काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । मंगलबार चितवनमा बसेको संघको बैठकले साउन ६ गतेदेखि लागू हुने गरी नयाँ दर तय गरेको हो । यसअघि गत जेठ २८ गते तोकिएको दररेटको तुलनामा हाल फार्म मूल्यमा प्रति क्रेट ६० रुपैयाँसम्म गिरावट आएको छ ।
देशभरिका अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा संघले यो नयाँ मूल्य निर्धारण गरेको जनाएको छ। यसअघि गत जेठ २८ गते काठमाडौंमा बसेको बैठकले सोही दिनदेखि लागू हुने गरी मूल्य तय गरेको थियो । नयाँ र पुरानो दुवै निर्णयमा चितवनलाई नै मुख्य आधार मानी अण्डाको समर्थन बिक्री मूल्य तय गरिएको संघले जनाएको छ ।
कति पर्छ क्रेटको अण्डा ?
नयाँ दररेट अनुसार सबै भन्दा ठुलो साइजको अण्डाको फार्म मूल्य प्रति क्रेट ५१५ रुपैयाँ कायम गरिएको छ । यसअघि ५७५ रुपैयाँ रहेको थियो । पहिले प्रति क्रेट ५६० रुपैयाँ रहेको ठूलो अण्डाको मूल्य ५०० रुपैयाँ र पहिले ५३० रुपैयाँ रहेको मिडियम अण्डाको मूल्य ४७० रुपैयाँ कायम गरिएको छ ।
यी तीनै वर्गका अण्डाको प्रति क्रेट मूल्यमा ६० रुपैयाँ गिरावट आएको छ । सानो अण्डाको मूल्यमा पनि प्रति पेटी ३०० रुपैयाँ कमी आई २ हजार ९०० रुपैयाँ कायम भएको छ, जुन यसअघि ३ हजार २०० रुपैयाँ रहेको थियो ।
फार्म मूल्यमा उल्लेख्य गिरावट आए पनि सर्वसाधारण उपभोक्ताले खरिद गर्ने मूल्यमा भने कुनै फेरबदल गरिएको छैन । उपभोक्ताका लागि पहिलेकै दर अर्थात् प्रति गोटा २५ रुपैयाँ मूल्य नै यथावत् राखिएको छ ।
अर्थ चाैतारी ।