logo

२०८३ साउन ७, विहिबार

logo
  • २०८३ साउन ७, विहिबार
  • २३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता

    २३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता

    208
    SHARES
    २३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता

    काठमाण्डौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद क्षेत्रको बहुप्रतीक्षित तथा प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८३’ को २३ औँ संस्करण आउँदो भदौ १८ गते आयोजना गर्ने घोषणा गरेको छ। काठमाण्डौमा बुधबार आयोजित एक कार्यक्रमका बीच मञ्चले नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’ मा अवार्ड समारोह हुने जानकारी गराएको हो। यसै अवसरमा मञ्चले अवार्डको मुख्य प्रायोजकका रूपमा रहेको देशको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा ग्रुपसँगको सम्झौतालाई समेत निरन्तरता दिएको छ।

    अवार्डको २३ औँ संस्करणका लागि मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। अघिल्लो वर्ष नै ५ वर्षका लागि भएको सम्झौताअनुसार यो दोस्रो वर्षको निरन्तरता हो भने गोल्छा ग्रुप लगातार १९ औँ पटक यस अवार्डसँग मुख्य प्रायोजकका रूपमा जोडिएको हो।

    सो अवसरमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले देशको खेलकुद स्तरोन्नति र खेलाडीको प्रोत्साहनका लागि लगातार सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए भने मञ्चका अध्यक्ष अधिकारीले गोल्छा ग्रुपको निरन्तर साथले अवार्डलाई थप व्यवस्थित र भव्य बनाउन मद्दत पुगेको भन्दै आभार व्यक्त गरे।

    यस वर्ष विभिन्न ९ विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिएका छन्। जसअन्तर्गत वर्षका उत्कृष्ट खेलाडी (पुरुष), वर्षका उत्कृष्ट खेलाडी (महिला), युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन्। मञ्चको खेलाडी छनोट समितिले आन्तरिक तयारी तीव्र बनाएको र मनोनयनमा पर्ने ५-५ जना खेलाडी तथा प्रशिक्षकहरूको नामावली केही दिनभित्रै सार्वजनिक गरिने जनाइएको छ।

    अवार्डमा विधागत उत्कृष्टता हासिल गर्ने विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। मुख्य विधा मानिएका वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी ५ विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ। त्यसैगरी अन्य विधाका विजेता तथा सम्मानित हुने व्यक्तित्वहरूलाई जनही नगद १ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। लाइफटाइम एचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्डका विजेताहरूको घोषणा भने समारोहकै दिन गरिनेछ।

    अवार्ड कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरू गठन भई कार्य अघि बढाइएको छ। गत वर्षको २२ औँ संस्करणमा पुरुषतर्फ क्रिकेटका दीपेन्द्र सिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पुजा महतो, प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामा र पिपल्स च्वाइसतर्फ भलिबलका हिमाल सुनारीले पल्सर मोटरसाइकल जितेका थिए भने पूर्वखेलाडी तथा प्रशिक्षक खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो।


    अर्थ चाैतारी
  • विहिबार, ७ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट