काठमाण्डौ । यो साता सेयर बजार परिसूचक नेप्से ३९ अंक बढेको छ । यो साता ५ दिन खुलेको बजार २ दिन घट्यो भने ३ दिन बढ्यो । गत साता २०४९ अंकमा बन्द भएको नेप्से यो साता २०८८.९ अंकमा बन्द भयो ।
आइतबार २६.३६ अंक घटेको बजार सोमबार ३६.५७ अंक बढ्यो । मंगलबार २०.६२ अंक बढेको बजार बुधबार ९.५ अंक बढ्यो भने अन्तिम कारोबार दिन बिहीबार जम्मा ०.६२ अंक घट्यो । समग्रमा यो साता नेप्से १.९४ प्रतिशतले बढेको छ । यो साता कारोबार रकम आइतबार ५ अर्ब २४ करोड, सोमबार ४ अर्ब ६७ करोड, मंगलबार ६ अर्ब ११ करोड, बुधबार ५ अर्ब १३ करोड र बिहीबार ४ अर्ब ३० करोडको कारोबार भयो ।
समूहगत रुपमा हेर्दा यो साता अन्य, विकास बैंक, हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्समा वृद्धि देखिएको छ । अन्य समूह सबैभन्दा धेरै ५ प्रतिशत बढ्यो । निर्जीवन बीमा र उत्पादन समूह भने यो साता घट्न पुगे ।
यस समूहमा कुल ६ वटा कम्पनी सूचीकृत छन् । नेपाल टेलिकम, नेपाल रिपब्लिक मिडिया, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स ६ कम्पनीमध्ये ३ कम्पनी नेपाल वेयर हाउजिङ, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य यो साता कारोबार भएका सबै दिन १० प्रतिशत बढ्यो । जसले गर्दा अरु ३ कम्पनी सामान्य घटबढ भए पनि बढेका ३ कम्पनीले समूह नै तान्यो १० प्रतिशत मूल्य बढिरहेका तीनै कम्पनी हालै बजारमा सूचीकृत भएका हुन् ।
नेपाल वेयरहाउजिङको ६८ लाख ७५ हजार कित्ता र मुक्तिनाथ कृषि कम्पनीको ७० लाख कित्ता सेयर सूचीकृत छ । सूचीकृतमध्ये पनि संस्थापक सेयरमा हुने लकइन अवधि, सामूहिक लगानी कोषहरुले ६ महिना बेच्न नपाउने अवस्थाजस्ता कारणले आपूर्ति नियन्त्रित छ । जसले गर्दा यी दुई कम्पनीको मूल्य बढिरहेको छ ।
अर्को हिमालयन रिइन्स्योरेन्सको १० करोड कित्ता सेयर सूचीकृत छ भने ३ करोड कित्ता साधारण सेयर हो । यसको सेयर संख्या उच्च भए पनि तुलनात्मक रुपमा अर्को कम्पनी नेपाल रिइन्स्योरेन्सको भन्दा मूल्य तल भएकाले माग उच्च छ । बिहीबार बजार बन्द हुँदा हिमालयन रिको मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ छ भने नेपाल रिको ६६१ रुपैयाँ छ ।
अर्थ चाैतारी ।