काठमाण्डौ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नवनियुक्त सदस्य–सचिव डा. प्रमोद जोशीले आजदेखि पदवहाली गरेका छन् । परिषद् कार्यालयमा आज पुगि उनले पदवहाली गरेका हुन् ।
पदवहालीपछि आयोजित स्वागत कार्यक्रममा सदस्यसचिव डा. जोशीले परिषद्लाई नयाँ उचाईमा पुर्याउने बताए । आगामी दिनमा बार्षिक योजना अनुसार परिषद्लाई अगाडि बढाउने उनको भनाई रहेको थियो । उनले परिषद्लाई यथास्थितिमा चलाउने वा फरक ढंगले चलाउने भन्नेमा छलफल गरेर अगाडि बढ्ने भन्दै परिषद्ले कर्मचारी र सम्बन्धित सवैसंग हातेमालो गरेर अगाडि बढ्ने समेत बताए ।
परिषद्का निमित्त प्रशासकिय प्रमुख तथा वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले नवनियुक्त सदस्य सचिव डा. जोशीलाई परिषद् परिवारमा स्वागत गर्दै कार्यकालको सफलताको कामना व्यक्त गरे । उनले परिषद्ले स्वास्थ्य अनुसन्धानका बिषयलाई समेटेर अगाडि बढ्ने बताए । कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले परिषद्का नवनियुक्त सदस्य सचिव डा. जोशीलाई बधाई दिदै परिषद्ले स्वास्थ्य अनुसन्धानका नीति तथा मापदण्ड बनाउनुपर्नेमा जोड दिए।
पदवहाली कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा परिषद्का पूर्व अध्यक्ष प्रा.डा. अन्जनीकुमार झा, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुवोध शर्मा, परिषद्का कार्यकारी समिति सदस्य डा. लक्ष्मीराज पाठक, चिकित्सक संघका महासचिव डा. संजीव तिवारी लगायतको उपस्थित रहेका थिए ।
पहिलो निर्णय
सातवटै प्रदेशमा स्वास्थ्य अनुसन्धान सम्बन्धी तालिम, गोष्ठिहरु तथा हालसम्म सम्पन्न भएका अनुसन्धानबाट प्राप्त नतिजाहरुको प्रवोधिकरण यहि आर्थिक बर्षभित्र शुरुवात गर्ने निर्णय उनले गरेको परिषद्का प्रशासकिय विज्ञ युवराज खरेलले जानकारी दिए ।
यहि फागुन ६ गते बसेको मन्त्रिपरिषदको बैठकले डा.जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि वरिष्ठ हाडजोर्नी विशेषज्ञ समेत रहनु भएका डा. जोशीले गेटा अस्पतालमा प्रमुख र राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी रही सफलतापूर्वक सम्पन्न गरिसक्नु भएको छ ।
अर्थ चाैतारी ।