काठमाण्डौ । सामाजिक सुरक्षा कोष र लुम्बिनी प्रदेशको कपिलवस्तुमा रहेको युनाइटेड नेशनल अस्पतालबीच कोषका योगदानकर्तालाई स्वास्थ्य सेवा प्रवाह गर्ने विषयमा सम्झौता भएको छ । कोषको कार्यालय बबरमहलमा आइतबार कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी तथा युनाइटेड अस्पतालको तर्फबाट अस्पताल प्रतिनिधि डा. गिरी पन्थीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरपछि अस्पतालका प्रतिनिधि डा.गिरीले कोषमा नियमित योगदानकर्ताको रुपमा रहेका श्रमीकवर्गले चिकित्सकको परामर्श सेवासहित ओपिडी र आइपीडी सेवा तथा दुर्घटना लगायतका बृहत् सेवा प्राप्त गर्ने जानकारी दिए । अशक्त भई अस्पताल आउन नसक्ने योगदानकर्ताको हकमा समेत घरमै बसी अस्पतालको सुविधा लिन सक्ने तथा त्यसको शोधभर्ना अस्पतालले गर्नेसमेत बताए ।
त्यस्तै कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले युनाइटेड नेशनल अस्पतालसँगको सम्झौताले सिंगो कपिलवस्तु जिल्ला तथा त्यस आसपासका योगदानकर्ता लाभान्वित हुने भन्दै सरकारको सामाजिक सुरक्षाको अभियानमा युनाइटेड नेशनल अस्पतालसँगको सहकार्यले समग्र लुम्बिनी प्रदेशमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
त्यसै अवसरमा लुम्बिनी प्रदेश सांसद विष्णुप्रसाद पन्थीले कपिलवस्तुमा रहेका सामाजिक सुरक्षा कोषका योगदानकर्ताले जिल्लाभित्रै रही सेवा प्राप्त गर्न सक्ने वातावरण बनेको बताए ।
अर्थ चाैतारी ।