logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • इरानसँग आणविक सम्झौता गर्न ट्रम्प प्रशासनको पहल, तेहरान पनि लचिलो भएको दाबी

    इरानसँग आणविक सम्झौता गर्न ट्रम्प प्रशासनको पहल, तेहरान पनि लचिलो भएको दाबी

    897
    SHARES
    इरानसँग आणविक सम्झौता गर्न ट्रम्प प्रशासनको पहल, तेहरान पनि लचिलो भएको दाबी

    काठमाण्डाै । अमेरिकाको ट्रम्प प्रशासनले इरानलाई वार्ताको टेबलमा ल्याउनका लागि विभिन्न प्रस्तावहरू पेश गरेको छ । सीएनएनमा प्रकाशित सामग्रीमा उल्लेख भएअनुसार, इरानलाई गैरसैन्य ऊर्जा उत्पादन गर्ने आणविक कार्यक्रमका लागि ३० अर्ब डलर दिने, उसमाथि लगाइएका प्रतिबन्धलाई खुकुलो पार्ने र रोकेर राखिएका अर्बौं डलर बराबरका इरानी पैसा फुक्का गर्ने प्रस्ताव अमेरिकाले राखेको छ । त्यसका लागि इरानले आणविक हतियार कार्यक्रम स्थगित गर्नुपर्नेछ ।



     

    इजरायल र इरानबीच द्वन्द्व चलिरहेको बेलामा पनि अमेरिका र पश्चिम एसियाका महत्त्वपूर्ण सरोकारवालाहरूले पर्दापछाडि इरानीहरूसँग कुराकानी गरिरहेको स्रोतलाई उद्धृत गर्दै सीएनएनले खबर दिएको छ । गत मंगलवार भएको युद्धविरामपछि पनि ती वार्ताहरू जारी रहेका थिए । ट्रम्प प्रशासनले इरानका लागि अनेकौं शर्त तेर्स्याएको छ । ती शर्तहरूमध्ये एउटामा कुनै पनि सम्झौता नहुने अमेरिकाले स्पष्ट पारेको छ । युरेनियमलाई कुनै पनि हालतमा संवर्धन गर्न नपाउने शर्त इरानले पालन गर्नैपर्ने अमेरिकाको भनाइ छ । तर, इरानले युरेनियम संवर्धन आफूलाई जरुरी रहेको बताएको छ ।

     

    पश्चिम एसियाका लागि अमेरिकाका विशेषदूत स्टिभ विटकोफले अरबी साझेदारहरूसँग गत शुक्रवार ह्वाइट हाउसमा घन्टौंसम्म बैठक गरेका थिए र त्यसक्रममा विवरणहरूमा सहमति बनेको थियो । त्यसक्रममा इरानको (युरेनियम संवर्धन विनाको) नयाँ आणविक कार्यक्रममा २० देखि ३० अर्ब डलर बराबरको लगानी गरिने कुरा उल्लेख छ । त्यो आणविक कार्यक्रम गैरसैन्य ऊर्जाका लागि उपयोग गरिने बताइएको छ । तर, त्यसका लागि अमेरिकाले आफैं पैसा नदिने र अरबी साझेदारहरूले त्यो पैसा उपलब्ध गराउनुपर्ने अमेरिकाको भनाइ छ । हालैका महिनामा भएका आणविक वार्तामा इरानको आणविक केन्द्रका विषयमा लगानी गर्ने कुरामा व्यापक छलफल भएको थियो ।

     

    इरानले गैरसैन्य आणविक ऊर्जा कार्यक्रममा सहमति जनाएमा इरानमाथि लगाइएका कतिपय प्रतिबन्धहरू खुकुलो बनाउने र विदेशी बैंकमा रोक्का भएको इरानको ६ अर्ब डलर बराबरको रकममा पहुँच दिने बताइएको छ । त्यससँगै अर्को एक प्रस्तावलाई पनि अघि सारिएको छ । अमेरिकाका अरबी साझेदारहरूले इरानको फोर्दोमा रहेको आणविक केन्द्रमा युरेनियम संवर्धन नगर्ने गरी आणविक कार्यक्रम चलाउनका लागि लगानी गर्ने प्रस्ताव गरिएको छ । गत शनिवार अमेरिकाले उक्त आणविक केन्द्रमा बंकर बस्टर बम प्रहार गरेको थियो । उक्त बम प्रहारपछि इरानले त्यो आणविक केन्द्रलाई उपयोग गर्न सक्ने हो कि हैन भन्ने स्पष्ट छैन र त्यसलाई गैरसैन्य प्रयोजनका लागि विकसित गर्ने प्रस्तावलाई उसले कत्तिको गम्भीरताका साथ लिएको छ भन्ने कुरा स्पष्ट छैन ।

     

    विटकोफले बुधवार सीएनबीसीसँग कुराकानी गर्दै अमेरिकाले ‘विस्तृत शान्ति सम्झौता’ गर्न चाहेको बताएका थिए । इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नका लागि सबै किसिमका प्रस्तावहरू अघि सारिएको ट्रम्प प्रशासनका एक अधिकृतले बताएका छन् । इरानले शान्तिपूर्ण नागरिक प्रयोजनका लागि आणविक कार्यक्रम बनाउन पाउने तर त्यसका लागि युरेनियम संवर्धन गर्न नपाउने अमेरिकाको भनाइ छ । बरू, इरानले संवर्धित युरेनियम आयात गर्न पाउने अमेरिकाले जनाएको छ । विटकोफले यसलाई युनाइटेड अरब अमिरातको आणविक कार्यक्रमसँग तुलना गरे ।

     

    इरानीहरूलाई यी शर्त प्रस्तुत गर्ने अवसर ट्रम्प प्रशासनसँग छ । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच अर्को साता वार्ता हुने जानकारी बुधवार दिएका थिए । तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले अर्को साता हुने भनिएको वार्ताको बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । यसको योजना बनाइरहेका मानिसहरूले यसको विवरणमा काम भइरहेको बताएका छन् । सीएनएनले कुरा गरेका स्रोतहरूले वार्ताको मिति तय नभइसकेको बताए ।

     

    विटकोफले पर्दापछाडि रहेर सघन कूटनीतिक पहल गरिरहेको भए पनि ट्रम्पले यसै साता आणविक सम्झौताको आवश्यकता नरहेको बताए । सम्झौता भए पनि नभए पनि आफूलाई मतलब नहुने उनको भनाइ थियो । इजरायल र इरानबीच युद्धविराम सम्झौता गराएको भए पनि राष्ट्रपतिले सार्वजनिक रूपमा इरानसँगको आणविक सम्झौताप्रति बेवास्ता देखाए । तर, उनका सल्लाहकारहरूले युद्धविराम कायम रहनका लागि दीर्घकालीन सम्झौता गर्नुपर्ने विश्वास राखेका छन् ।

     

    अमेरिका र इरानबीच क्षेत्रीय मध्यस्थकर्ताहरूमार्फत लगातार वार्ता भइरहेको छ र विटकोफले गोप्य बैठकमा बनाएका शर्तहरूमा चर्चा चलिरहेको छ । विशेषगरी कतारीहरू यस वार्ताको समन्वय गरिरहेका छन् । यसै साता इजरायल र इरानबीच युद्धविराम गराउन कतारकै महत्त्वपूर्ण भूमिका थियो । उनीहरूले फेरि लडाइँ नगरून् भनी कतारले अमेरिकासँग मिलेर काम गरिरहेको छ । विगत दुई हप्तामा विकसित घटनाक्रमका कारण इरानले अमेरिकी शर्तहरूलाई मान्न तयार हुने र आणविक हतियार नबनाउने आशा ट्रम्प प्रशासनले गरेको छ ।

     

    तर इरानले अब आणविक हतियार आवश्यक रहेको निष्कर्ष निकालिसकेको हुन सक्ने सम्भावना इरानी विज्ञहरूले औंल्याएका छन् । यसै साता इरानको संसद्ले संयुक्त राष्ट्रसंघको आणविक निकाय आईएईएसँग सहकार्य नगर्ने प्रस्ताव पारित गरेको छ । अर्थात्, इरानीहरू आफ्नो आणविक कार्यक्रमलाई थप गोप्य राख्न चाहन्छन् । इजरायलले इरानविरुद्ध आक्रमण गर्नुअघि अमेरिकी र इरानीहरूले नयाँ आणविक सम्झौताका लागि पाँच चरणको वार्ता गरेका थिए । छैटौं चरणको वार्ता ओमानमा हुने कार्यक्रम थियो र त्यसमा अमेरिकाले इरानसमक्ष राखेको प्रस्तावमा इरानले प्रतिक्रिया दिने योजना थियो । तर, इजरायलले इरानमाथि आक्रमण गरेपछि यी वार्ताहरू ठप्प भएका थिए ।

     

    शनिवार इरानले आणविक केन्द्रहरूमा आक्रमण गर्नुअघि ट्रम्प प्रशासनले मध्यस्थकर्ताहरूमार्फत इरानसँग कुरा गरेको थियो । अमेरिकाले दुईवटा सन्देश दिएको थियो : पहिलो, अमेरिकाले सीमित दायरामा मात्र आक्रमण गर्नेछ र दोस्रो, इरानले युरेनियम संवर्धन गर्न पाउँदैन । तर, इरानसँग अर्को साता वार्ताको घोषणा गरेको भए पनि ट्रम्पले सम्झौता हुन सक्ने विषयमा आशंका व्यक्त गरे । आफूहरूले इरानलाई आणविक हतियार नबनाउनू भन्ने उनले बताए ।

     

    इजरायल र इरानबीचको युद्धभन्दा अघि अमेरिकाले इरानसमक्ष तेर्स्याएको शर्तमा प्रतिबद्धताको माग दोहोर्‍याउने ट्रम्पले बताए । इरानले मध्यस्थकर्तामार्फत भन्दा पनि अमेरिकासँग सिधै कुरा गरेमा मात्र सम्झौता हुन सक्ने अमेरिकाका विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोले बताएका छन् । उता विटकोफले सम्झौता हुन सक्ने संकेत पाइएको बताएका छन् । इरानका विभिन्न व्यक्तिहरूले कुराकानी गर्न खोजेकाले उनीहरू तयार भएको संकेत पाइएको विटकोफको भनाइ छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट