logo

२०८३ जेष्ठ ६, बुधबार

logo
  • २०८३ जेष्ठ ६, बुधबार
  • कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो

    कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो

    312
    SHARES
    कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो

    काठमाण्डौ । पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर बढेको छ। बजेट बढ्दै गएपनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ। आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्म मुख्य खाद्यान्नबालीको उत्पादनमा उतारचढाव देखिएको हो । केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली सङ्कटउन्मुख देखिएका छन् । नेपालीको मुख्य खाद्यान्नबाली धान, मकै, गहुँ, कोदो र फापर हो।



    सरकारले प्रतिवर्ष कृषि क्षेत्रमा १० दशमलव सात प्रतिशतले बजेट बढाउँदै लगेको छ । आव २०७०/७१ मा २१ अर्ब ४० करोड र २०८१/८२ मा ५९ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। साविक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको कृषिसम्बन्धी तथ्याङ्क जानकारी’ पुस्तकमा उल्लेख भएअनुसार आव २०७०/७१ मा धान ५० लाख ४७ हजार ४७, मकै २२ लाख ८३ हजार २२२ गहुँ, १८ लाख ८३ हजार १४७, कोदो तीन लाख चार हजार १०५ र फापर एक लाख ३३५ मेट्रिकटन उत्पादन भएको थियो।

    पछिल्ला वर्षमा गहुँबाहेक धान, चामल, भारत, कोदो, फापर चीन, अर्जेन्टिना, मलेसियालगायत मुलुकबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। आव २०८१/८२ मा धान र चामल गरी सात लाख ५३ हजार ३०५ मेट्रिकटन, मकै दुई लाख ९९ हजार ९८९ मेट्रिकटन, कोदो आठ हजार ४४३ मेट्रिकटन र फापर ६९८ मेट्रिकटन आयात भएको छ । आव २०८१/८२ मा धान चामल खरिदमा ४० अर्ब १८ करोड, मकै १९ अर्ब २७ करोड, कोदो ४२ करोड ३० लाख र फापर खरिद गर्न पाँच करोड ३० लाख रुपैयाँ गरी सो वर्ष कुल ५९ अर्ब ९२ करोड ६० लाख रुपैयाँ बाहिरिएको छ ।

    सोही आवमा सरकाले कृषि क्षेत्रको विकासका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन बजेट कृषि विकासका लागि आयातमा चार दशमलव शून्य ६ प्रतिशत अर्थात् दुई अर्ब ६३ करोड ६० लाख रुपैयाँले बढी हो । तथ्याङ्कअनुसार धानको उत्पादन प्रतिवर्ष एक दशमलव ०३४ प्रतिशतले र जनसङ्ख्या वृद्धिदर भने प्रतिवर्ष शून्य दशमलव ९२ प्रतिशतले वृद्धि भइरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । २०७८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

    कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभागका वरिष्ठ कृषि अर्थ विज्ञ तिलकराज चौलागाईका अनुसार तीन करोड जनसङ्ख्यालाई धान्न करिब ७० लाख मेट्रिकटन धानको आवश्यकता रहेको बताउनुहुन्छ । सो जनसङ्ख्यालाई धान्न १३ लाख मेट्रिकटन धानको उत्पादन वृद्धि गर्नुपर्नेछ। आव २०८१/८२ मा ३१ लाख ९३ हजार ८६९ मेट्रिकटन मकै उत्पादन भएको छ । दश वर्षमा नौ लाख १० हजार ६४७ मेट्रिकटन उत्पादन बढेको छ । जुन प्रतिवर्ष तीन दशमलव नौ आठ प्रतिशतले वृद्धि हो । गहुँको उत्पादन आठ प्रतिशतले वृद्धि भई २० लाख ३५ हजार ५५९ मेट्रिकटन पुगेको छ। जुन प्रतिवर्ष शून्य आठ प्रतिशतले वृद्धि हो।

    कोदो र फापरको उत्पादन १० वर्षमा निकै खस्किएको छ । आव २०७०/७१ मा कोदो तीन लाख चार हजार १०५ मेट्रिकटन थियो भने २०८०/८१ मा २४ हजार ९३१ मेट्रिकटन छ । प्रतिवर्ष कोदोको उत्पादन २२ दशमलव एक प्रतिशतले घटेको छ। त्यसैगरी फापर २०७०/७१ मा एक लाख ३३५ मेट्रिकटन थियो भने आव २०८०/८१ मा १४ हजार ५१६ मेट्रिकटन मात्र भयो । फापरको उत्पादन प्रतिवर्ष १७ दशमलव छ प्रतिशतले घटेको छ।

    दशवर्षमा सरकारले कृषि क्षेत्रको बजेट १० दशमलव सात प्रतिशतले बढाउँदै लगेको छ भने उत्पादन धानको प्रतिवर्ष एक दशमलव शून्य ३४ मकैको तीन दशमलव ९८, गहुँको ०८ प्रतिशतले वृद्धि भएको छ भने कोदोको प्रतिवर्ष २२ दशमलव एक र फापरको १७ दशमलव छ प्रतिशतले गिरावट आएको छ।

    अर्कातर्फ खेतीयोग्य जमिन पनि घट्दै गएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार २०६८ सालको कृषि गणनामा २५ लाख २५ हजार ६३९ हेक्टर र त्यसको १० वर्षपछि अर्थात् २०७८ सालको कृषि गणनामा आइपुग्दा झण्डै तीन लाख हेक्टर जमिन घट्न गई २२ लाख १८ हजार ४१० हेक्टर जमिन खेतीयोग्यमा खुम्चिएको उल्लेख छ। नेपालमा प्रत्येक १०/१० वर्षमा कृषि गणना गरिँदै आएको छ । कृषि गणनाको सुरुआत विसं २०१८ देखि प्रारम्भ गरिएको हो।


    अर्थ चाैतारी
  • बुधबार, ६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट