logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • कक्षाकोठामा सिर्जनशीलता: अंग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एशियाली क्षेत्रीय संवाद हुँदै

    कक्षाकोठामा सिर्जनशीलता: अंग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एशियाली क्षेत्रीय संवाद हुँदै

    221
    SHARES
    कक्षाकोठामा सिर्जनशीलता: अंग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एशियाली क्षेत्रीय संवाद हुँदै

    काठमाण्डौ । दक्षिण एशियाली क्षेत्रका विद्यालयहरूमा सिर्जनशीलता, समावेशिता र प्रविधिको प्रयोगमार्फत विद्यार्थीहरूलाई बदलिँदो विश्व परिवेश अनुसार सक्षम बनाउने उद्देश्यका साथ तीन दिने अनलाइन सम्मेलन आयोजना हुने भएको छ । ब्रिटिश काउन्सिलको आयोजनामा आगामी २३–२५ जुलाई २०२६ सम्म “साउथ एशिया टिचिङ इङ्लिस अनलाइन कन्फ्रेन्स २०२६” (South Asia TeachingEnglish Online Conference 2026) हुन लागेको हो । सम्मेलनमा दक्षिण एशियाका शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ भने इच्छुक व्यक्तिहरूका लागि निःशुल्क सहभागिताको व्यवस्था गरिएको छ ।

    क्षेत्रीय मुलुकहरूका शैक्षिक प्रणालीले पाठ्यक्रमको अपेक्षा र विद्यार्थीको बदलिँदो आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती सामना गरिरहेको परिप्रेक्ष्यमा यो सम्मेलन तय भएको हो । हालको अवस्थामा अंग्रेजी भाषा प्राज्ञिक तथा व्यावसायिक अवसरका लागि पहुँचको महत्त्वपूर्ण माध्यम भए पनि विज्ञहरू भाषा सिकाइको परम्परागत दायराभन्दा माथि उठेर आलोचनात्मक सोच, आपसी सहयोग, विद्यार्थीको स्व-क्षमता (Agency) र सहभागिता विकास गर्ने पद्धतितर्फ केन्द्रित हुन थालेका छन् । सम्मेलनले बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका विज्ञहरूलाई एकै थलोमा भेला गरेर सिर्जनशीलतालाई प्रभावकारी सिकाइको मुख्य आधारका रूपमा स्थापित गर्नेबारे अन्तरक्रिया गराउनेछ ।

    कन्फ्रेन्समा विविध भाषिक पृष्ठभूमिका विद्यार्थी अध्ययनरत कक्षाकोठालाई थप समावेशी बनाउने, नवप्रवर्तनमुखी शिक्षण पद्धतिमार्फत विद्यार्थीको आवाजलाई सशक्त बनाउने र कृत्रिम बुद्धिमत्ता (AI) जस्ता नवीनतम प्रविधिलाई मानव केन्द्रित शिक्षण विधिको पूरकका रूपमा कसरी उपयोग गर्ने भन्ने सवालमा केन्द्रित रहेर संवाद हुनेछ । सहभागीहरूले मुख्य प्रस्तुति, प्रचलित अभ्यासमा आधारित छलफल तथा कक्षाकोठाका अनुभव र असल अभ्यासमार्फत दक्षिण एशियाको साझा चुनौतीलाई आ-आफ्नो स्थानीय सन्दर्भ अनुसार समाधान गर्ने व्यावहारिक उपायबारे बुझ्न पाउनेछन् ।

    सम्मेलन आयोजनाको सन्दर्भमा ब्रिटिश काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले विश्व परिवेशमा विद्यार्थीको सफलताका लागि प्रभावकारी सञ्चार, सहयोग र आलोचनात्मक सोचजस्ता सीप विकास गर्न सिर्जनशीलताको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले यस सम्मेलनमार्फत व्यावहारिक पक्ष, अनुसन्धानमा आधारित दृष्टिकोण तथा कक्षाकोठामा कार्यान्वयन गर्न सकिने शैक्षिक अवधारणा र रणनीतिबारे यस क्षेत्रका शिक्षक तथा सरोकारवालालाई अवगत गराइने उल्लेख गरे ।

    सम्मेलनमा श्रीलंकाकी अन्जु मोसेस, भारतका डा. अमोल पदवाड र हुमा हसना रियाज अहमद, पाकिस्तानकी डा. फौजिया शमिम, बंगलादेशका डा. एम.डी. मोस्तफिजुर रहमान लगायत दक्षिण एशियाका स्थापित शिक्षाविद्हरूले वक्ताका रूपमा प्रस्तुति दिनेछन् । नेपालका तर्फबाट माध्यमिक तहकी शिक्षिका एवं प्रशिक्षक शोभा भट्टराई, सहायक प्रधानाध्यापक एवं फुलब्राइट टीईए एलुम्ना आस्था कुमारी चौधरी र प्रविधिमैत्री भाषा शिक्षणमा आबद्ध कृष्ण आर.सी. ले कक्षाकोठाका व्यावहारिक अनुभव र शिक्षण पद्धतिका विषयमा आफ्नो प्रस्तुति राख्नेछन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट