logo

२०८३ साउन ७, विहिबार

logo
  • २०८३ साउन ७, विहिबार
  • १३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा

    १३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा

    286
    SHARES
    १३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा

    काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ मा नेपालले १३४ देशसँग व्यापार घाटा व्यहोरेको छ । बिहीबार सार्वजनिक भन्सार विभागको तथ्यांकमा आधारित विवरणले यस्तो देखाएको हो । तथ्यांक अनुसार यो वर्ष नेपालको जम्मा २८ वटा देशसँगको व्यापार मात्रै नाफामा रहेको छ ।

    समग्रमा समीक्षा अवधिमा नेपालको कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा नेपालले २० खर्ब ९६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा जम्मा ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको मात्र निर्यात गर्न सकेको छ । नेपालको सबैभन्दा ठूलो व्यापार घाटा छिमेकी मुलुकहरू भारतसँग ९ खर्ब ५१ अर्ब रुपैयाँ र चीनसँग ४ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ ।

    सबैभन्दा धेरै व्यापार घाटा भएका देश

    नेपालको कुल व्यापार घाटाको ठूलो हिस्सा सीमित केही देशहरूसँग मात्रै रहेको छ। विशेषगरी दुई छिमेकी देशहरू र केही तेस्रो मुलुकहरूसँग नेपालले खर्बौंको व्यापार घाटा बेहोरिरहेको छ ।

    नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ । यस अवधिमा नेपालले भारतबाट १२ खर्ब १० अर्ब रुपैयाँको आयात गरेको छ भने जम्मा २ खर्ब ५८ अर्ब रुपैयाँको मात्र निर्यात गरेको छ । यसरी भारतसँग मात्रै नेपालको व्यापार घाटा ९ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ ।

    दोस्रो ठूलो घाटा चीनसँग रहेको छ । चीनबाट ४ खर्ब २५ अर्ब रुपैयाँको आयात हुँदा निर्यात जम्मा १ अर्ब ८९ करोड रुपैयाँको मात्रै भएको छ । चीनसँग नेपालको घाटा ४ खर्ब २३ अर्ब रुपैयाँ छ ।

    एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
    एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
    छिमेकी देशपछि नेपालले सबैभन्दा धेरै घाटा अर्जेन्टिनासँग बेहोरेको छ । अर्जेन्टिनाबाट १ खर्ब १६ अर्ब ३८ करोड रुपैयाँको आयात भएको छ भने उता पठाइने निर्यात जम्मा १८ हजार रुपैयाँ मात्र छ । अर्जेन्टिनासँगको घाटा १ खर्ब १६ अर्ब रुपैयाँ माथि छ । यहाँबाट तेलजन्य पदार्थ आयात हुँदै आएको छ ।

    यीबाहेक नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग ५० अर्ब ३२ करोड, इन्डोनेसियासँग २१ अर्ब ९२ करोड, थाइल्यान्डसँग १८ अर्ब ३२ करोड, अष्ट्रेलियासँग १८ अर्ब २६ करोड, ब्राजिलसँग १७ अर्ब ७० करोड, मलेसियासँग १५ अर्ब २६ करोड र अमेरिकासँग ११ अर्ब ९४ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ ।

    यस्ता छन् व्यापार नाफामा रहेका देश

    नेपालले व्यापार नाफा कमाएका सीमित २८ देशहरूको सूची हेर्दा एक रोचक तथ्य फेला पर्छ । नेपालसँग व्यापार नाफा भएका अधिकांश युरोपेली र साना टापु राष्ट्र रहेका छन् । यी देशबाट नेपालको खासै आयात भएको देखिँदैन, अधिकांश निर्यात भएको देखिन्छ ।

    नेपालले सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग कमाएको छ । डेनमार्कबाट २१ करोड ६२ लाख रुपैयाँ बराबरको आयात भएकोमा नेपालले १ अर्ब २ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । जसका कारण डेनमार्कसँग नेपाल ८० करोड ४५ लाख रुपैयाँ नाफामा छ ।

    युरोपेली देश नर्वेसँग नेपाल ८ करोड ८० लाख र रोमानियासँग ४ करोड २२ लाख रुपैयाँ व्यापार नाफामा छ । आइसल्याण्डसँग पनि २ करोड ६० लाख रुपैयाँ नाफा रहेको छ ।

    केही यस्ता देशहरूबाट नेपालले शुन्य आयात गरेको छ । ग्रेनाडा, फिजी, बहामास, बार्बाडोस, सिरियन अरब रिपब्लिक र एङ्गोलाजस्ता देशबाट आयात शून्य हुँदा यी देशसँगको व्यापार पूर्ण रुपमा नेपालको पक्षमा छ ।

    त्यस्तै, अमेरिकन सामोआबाट नगन्य आयात भएको छ । यहाँबाट जम्मा २ हजार रुपैयाँको आयात भएकोमा ४ करोड ४६ लाख रुपैयाँको निर्यात भएको छ ।

    त्यस्तै, केम्यान आइल्याण्ड्स र पानामाबाट जम्मा १/१ हजार रुपैयाँको मात्र आयात भएको छ भने निर्यात क्रमशः १ करोड ४० लाख र ३ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

    नेपालले सेसेल्स, नाइजर, माल्दिभ्स, इराक, न्यू क्यालेडोनिया, यमन, जर्जिया, कोलम्बिया, मौरिसस, माली, साइप्रस, क्रोएसिया, घाना, कंगो र जमैका जस्ता देशहरूसँग पनि व्यापार नाफा कमाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ७ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट