काठमाण्डौ । देशको आयात र निर्यातमा वीरगञ्ज भन्सारको वर्चस्व कायमै छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक वैदेशिक व्यापारमा भन्सार कार्यालयहरुको हिस्साको आधारमा यस्तो वस्चस्व देखिएको हो । बिहीबार सार्वजनिक तथ्यांकअनुसार आयात र निर्यात दुवैतर्फ वीरगन्ज भन्सार कार्यालय देशकै पहिलो र उत्कृष्ट भन्सार नाका बनेको छ भने साना तथा केही चर्चित भन्सार कार्यालयहरूको व्यापारिक अवस्था निकै कमजोर देखिएका छन् ।
कुल २८ मध्ये ११ वटा भन्सार कार्यालयबाट त निर्यात पूर्ण रुपमा शून्य रहेको तथ्यांकले देखाएको छ। कुल आयातमध्ये झन्डै आधा हिस्सा एक्लै वीरगन्ज भन्सारले ओगटेको छ। आयाततर्फ ४७.०५ प्रतिशत हिस्सासहित वीरगन्ज पहिलो स्थानमा छ।
यसबाहेक भैरहवा १४.५१ प्रतिशत, विराटनगर ११.५४ प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९.७१ प्रतिशत र नेपालगन्ज कार्यालय ४.१५ प्रतिशत आयात हिस्सासहित आयातमा पाँच ठूला भन्सार कार्यालयको रुपमा सूचीकृत भएका छन् । देशबाट बाहिरिने सामग्रीतर्फ पनि वीरगन्ज भन्सार कार्यालय नै सबैभन्दा अगाडि छ। कुल निर्यातको ३६.४३ प्रतिशत हिस्सा वीरगन्जले ओगटेको छ।
यस्तै, विराटनगर भन्सार दोस्रो स्थानमा छ जसले २८.१४ प्रतिशत हिस्सा ओगटेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२.०३ प्रतिशत हिस्सासहित तेस्रो, भैरहवा ११.०८ प्रतिशतसहित चौथो र मेची भन्सार ८.३३ प्रतिशतसहित पाँचौं स्थानमा रहेका छन्।
११ नाकाबाट निर्यात शून्य
ठूला नाकाहरूले व्यापारमा महत्त्वपूर्ण योगदान दिइरहँदा साना तथा केही क्षेत्रीय भन्सार कार्यालयहरूको अवस्था भने अत्यन्तै दयनीय देखिएको छ। आयाततर्फ त्रिवेणी भन्सारको अवस्था सबैभन्दा कमजोर छ, जहाँबाट २ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको आयात भएको छ। त्यसैगरी पशुपतिनगर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ठाडी भन्सार कार्यालयको आयात हिस्सा शुन्य छ।
निर्याततर्फको अवस्था झनै निराशाजनक छ। तथ्यांकमा समावेश २८ भन्सार कार्यालयमध्ये ११ वटा कार्यालयबाट निर्यात शून्य देखिएको छ। ठूलो लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र चर्चित उत्तरी नाका तातोपानीबाट समेत निर्यात शून्य देखिएको छ ।
निर्यात शून्य रहेका अन्य भन्सार कार्यालयहरूमा सुठौली, सुनसरी, जनकपुर, महेशपुर, सती, भद्रपुर, सिराहा, राजविराज र ठाडी रहेका छन्। त्यस्तै, शून्य नभए पनि त्रिवेणी १ लाख ९९ हजार, कञ्चनपुरबाट ७१ लाख ११ मूल्य बराबरको नगण्य निर्यात रहेको भन्सार विभागको तथ्यांक छ ।
अर्थ चाैतारी ।