काठमाण्डौ । जाभा (Java) प्रोग्रामिङ भाषासँग सम्बन्धित प्रणाली तथा एन्जिनक्स (Nginx) वेब सर्भर प्रयोग गरी सञ्चालन गरिएका डिजिटल प्रणाली र सर्भरहरूमा गम्भीर प्रकृतिको सुरक्षा कमजोरी पहिचान भएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सुरक्षा चेतावनी (एडभाइजरी) जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयस्थित राष्ट्रिय साइबर सुरक्षा केन्द्र (सिंहदरबार) ले बिहीबार एक सूचना प्रकाशित गर्दै संवेदनशील निकाय तथा प्रणाली सञ्चालकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
केन्द्रले जारी गरेको सूचना सङ्ख्या ११४७–११५–०२ का अनुसार हालै जाभामा ‘जाभाफोरशेल’ (Java4Shell) र एन्जिनक्समा ‘एन्जिनक्सटुरुट’ (Nginx2Root) नामका गम्भीर सुरक्षा छिद्रहरू पहिचान भएका छन्। सन् २०२६ को नोभेम्बर महिनामा विश्वव्यापी रूपमा सार्वजनिक भएका यी प्राविधिक कमजोरीका कारण जाभा सञ्चालन वातावरण, विकास उपकरण तथा एन्जिनक्स वेब सर्भर प्रयोग गर्ने प्रणालीहरू प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ।
साइबर आक्रमणकारीहरूले यस्ता कमजोरीको दुरुपयोग गरेको खण्डमा सम्बन्धित संस्थाका प्रणाली तथा सर्भरमा अनधिकृत पहुँच स्थापित हुने, अत्यावश्यक डिजिटल सेवाहरू अवरुद्ध हुने तथा समग्र प्रणालीमाथि नै बाह्य नियन्त्रण कायम हुन सक्ने उच्च जोखिम रहेको केन्द्रले स्पष्ट पारेको छ।
केन्द्रले सार्वजनिक गरेको प्राविधिक विवरणअनुसार जाभामा देखिएको मुख्य त्रुटि तथ्याङ्क रूपान्तरण प्रक्रियासँग सम्बन्धित रहेको छ। यस कमजोरीको फाइदा उठाउँदै साइबर आक्रमणकारीले निश्चित प्रकृतिका यन्त्र तथा सर्भरहरूमा टाढाबाटै अनधिकृत निर्देशन (रिमोट कोड एक्जिक्युसन) सञ्चालन गर्न वा सम्बन्धित अनुप्रयोग नै पूर्ण रूपमा ठप्प पार्न सक्ने जोखिम रहन्छ।
त्यसैगरी, एन्जिनक्स वेब सर्भरको स्मृति व्यवस्थापन (मेमोरी म्यानेजमेन्ट) प्रणालीमा पाँचवटा गम्भीर प्राविधिक त्रुटिहरू पहिचान भएका छन्। यसको दुरुपयोग गरी आक्रमणकारीले एन्जिनक्सको कार्य प्रक्रियाले पाएसरहको उच्च अधिकार प्रयोग गरेर प्रणालीभित्र अनधिकृत निर्देशन सञ्चालन गर्न सक्ने केन्द्रको प्राविधिक विश्लेषण छ।
यसअघि पीएचपी प्रणालीमा समेत यस्तै प्रकृतिको सुरक्षा कमजोरी देखिएपछि केन्द्रले सतर्कता अपनाउन निर्देशन दिएको थियो। पछिल्लो समय सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण वेब प्रणाली र सर्भरहरूमा जाभा र एन्जिनक्सको व्यापक प्रयोग हुने भएकाले समयमै सुरक्षा प्याच (Security Patch) अद्यावधिक नगरे ठुलो साइबर दुर्घटना निम्तिन सक्ने विज्ञहरूको चेतावनी छ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्भावित साइबर आक्रमण तथा डेटा चोरीको जोखिम न्यूनीकरण गर्न सम्बन्धित सबै सरकारी निकाय, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका प्रणाली प्रशासकहरूलाई तत्काल आफ्ना जाभा र एन्जिनक्स सफ्टवेयरहरू आधिकारिक तथा सुरक्षित संस्करणमा अद्यावधिक (अपडेट) गर्न सुझाव दिएको छ।

‘अपराधी’ भनेपछि बिच्किएका गिरिराजमणि बन्दसत्रमा
सनराइज बैंकको ७ प्रतिशत लाभांश
सदन नचल्दा साह्रै गाह्रो भयो:
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई
२०२१ मा रेकर्डतोड संख्यामा आईपीओ
अवैध मोबाइल ल्याउने गिरोहको मिलेमतोमा