काठमाण्डौ । काठमाण्डौको चक्रपथ विस्तारलाई गति दिने क्रममा चप्पल कारखानादेखि धोबीखोला पुल नजिकसम्मको सडक आठ लेनमा स्तरोन्नति गर्न ठेक्का लागेको छ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण हुने १.०३ किलोमिटर सडकको काम ठेक्का सम्झौता भएको १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सडक डिभिजन काठमाण्डौले उक्त सडक विस्तारका लागि शान्ति-सुशन जेभीलाई निर्माण कम्पनीका रूपमा छनोट गरेको छ।
कम्पनीले भ्याट र मूल्य समायोजनबाहेकका प्रावधानसहित कुल ४० करोड १८ लाख ३३ हजार ७१० रुपैयाँमा ठेक्का पाएको हो। यद्यपि, निर्माण सम्झौता भने हुन बाँकी छ।
सडक डिभिजनले गत साउनको अन्तिम साता ठेक्का आह्वान गरेको थियो। त्यसमा १६ निर्माण कम्पनीले प्रस्ताव पेस गरेका थिए। प्राविधिक मूल्यांकनपछि १० कम्पनी छनोट भएका थिए। तीमध्ये आर्थिक प्रस्तावको मूल्यांकनका आधारमा शान्ति-सुशन जेभीलाई निर्माणको जिम्मा दिने निर्णय गरिएको हो।
सडक डिभिजन काठमाण्डौका इन्जिनियर सजित शर्माका अनुसार कम्पनी छनोट भइसकेकाले अब सम्झौता प्रक्रिया अघि बढाइनेछ। सम्झौता सम्पन्न भएपछि सडक विस्तारको काम सुरु हुनेछ।
पहिलो चरणको काम सकियो, दोस्रो चरण अघि बढ्दै
नारायणगोपाल चोकदेखि धोबीखोला पुलसम्मको करिब सवा दुई किलोमिटर सडकलाई आठ लेनमा विस्तार गर्ने योजनाअन्तर्गत पहिलो चरणमा नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको ७०० मिटर सडक निर्माण सम्पन्न भइसकेको छ। अब चप्पल कारखानादेखि धोबीखोलासम्मको खण्ड विस्तार गर्न लागिएको हो।
बजेट अभावका कारण सुरुमा प्रस्ताव गरिएको सम्पूर्ण खण्डको सट्टा १.०३ किलोमिटर सडकका लागि मात्र ठेक्का लगाइएको हो। बाँकी सडकसहित चाबहिल चोकसम्मको खण्डमा पनि चालु आर्थिक वर्षभित्रै ठेक्का लगाउने सडक डिभिजनको योजना छ।
नयाँ सडकको बनावट नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्म विस्तार गरिएको सडककै ढाँचामा हुनेछ।
बीच भागमा चार लेन र दुवैतर्फ दुई–दुई लेन गरी मुख्य सडक आठ लेनको बनाइनेछ। यसबाहेक दुवैतर्फ छुट्टै सेवा सडकसमेत रहनेछ। सडकको डिजाइन सडक डिभिजन काठमाण्डौले नै तयार पारेको हो।
२७ किलोमिटरभन्दा लामो चक्रपथमा विस्तारको काम जारी
काठमाण्डौको २७.२ किलोमिटर लामो चक्रपथलाई विभिन्न चरणमा विस्तार गर्ने काम भइरहेको छ। हालसम्म कोटेश्वरदेखि कलंकीसम्मको १०.४ किलोमिटर र नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको ७०० मिटर गरी कुल ११.१ किलोमिटर सडक आठ लेनमा निर्माण भइसकेको छ।
कोटेश्वर–कलंकी खण्ड चीन सरकारको पाँच अर्ब रुपैयाँ अनुदानमा निर्माण गरिएको थियो। सन् २०१२ मा सुरु भएको उक्त आयोजना सन् २०१८ मा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरिएको थियो। त्यसैगरी, नारायणगोपाल चोक–चप्पल कारखाना खण्ड निर्माण गर्न सरकारले २५ करोड रुपैयाँ खर्च गरेको थियो।
चक्रपथको बाँकी १६.१ किलोमिटर सडक विस्तार हुन बाँकी छ।
त्यसमध्ये कलंकीदेखि वसुन्धरासम्मको ८.२ किलोमिटर खण्ड चीन सरकारको करिब १२ अर्ब रुपैयाँ लगानीमा निर्माण गर्ने तयारी छ। यसका लागि नेपाल र चीनबीच गत वैशाख १६ गते अन्तिम सम्झौता भएको थियो।
सडक विभागका अनुसार चिनियाँ पक्षले कात्तिकभित्रै निर्माण सुरु गर्ने तयारी गरेको छ। यस खण्डको गोंगबु–माछापोखरी चोकमा सवारी आवागमन सहज बनाउन आकाशे पुलको सट्टा सवारीसाधनका लागि छुट्टै उचाइमा सडक पार गर्ने संरचना अर्थात् फ्लाइओभरसमेत निर्माण गरिनेछ।
वसुन्धरा–नारायणगोपाल चोक खण्ड अझै अन्योलमा
वसुन्धरादेखि नारायणगोपाल चोकसम्मको सडक विस्तार भने मुआब्जासम्बन्धी विवादका कारण टुंगोमा पुग्न सकेको छैन। पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तयार पारेको ‘काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना’मा यस क्षेत्रमा भूमिगत मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको छ।
चक्रपथको चाबहिलदेखि गौशालासम्मको १ हजार ५६३ मिटर सडक खण्डमा पनि भूमिगत सुरुङ निर्माणको प्रस्ताव अघि सारिएको छ। सडक विस्तारका लागि पर्याप्त खाली जग्गा उपलब्ध नहुनु र पशुपति क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले आकाशे सडक निर्माणमा कठिनाइ हुने भएपछि सुरुङलाई विकल्पका रूपमा हेरिएको हो।
तर, यस विषयमा अन्तिम निर्णय भइसकेको छैन।
गौशालादेखि कोटेश्वरसम्मको खण्ड भने आठ लेनमा विस्तार गर्ने योजना छ। यस क्षेत्रमा हालको सडकको दायाँबायाँ नयाँ सडक निर्माण गरेर चौडा बनाउने तयारी छ।

एनपीएलको टिकट मूल्य सार्वजनिक, आजैबाट
राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेटवार्ता
यसरी भित्र्याइयो घरघरमा लक्ष्मी (भिडियो)
नेपाल ज्योति कार्यालय तिहार
भ्रष्टाचारिसँग ‘जी हजुर’ गर्दै अख्तियार
आज गाईलाइ महालक्ष्मी र गोरुलाइ